सम्झना हत्या प्रकरण : आरोपीले अझै मुख खोलेनन्
बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई मङ्गलबार सार्वजनिक गरेपनि उनले आपराध स्वीकार गरेका छैनन् ।
असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो। गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे। अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन्।
आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने बताएका छन् ।
अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी परेको छ। सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१४ असोज २०७७, बुधवार ०९:०२ बजे प्रकाशित































