धनगढीमा सङ्घीयता सम्बन्धी युवा संवाद कार्यक्रम सम्पन्न

धनगढी, २२ जेठ। नेपालमा सङ्घीय शासन प्रणाली, अन्तर–सरकारी सम्बन्ध, समावेशी शासन तथा वित्तीय सङ्घीयताबारे युवाहरूमा साझा बुझाइ विकास गर्ने उद्देश्यले धनगढीमा प्रदेशस्तरीय सङ्घीयता सम्बन्धी युवा संवाद कार्यक्रम सम्पन्न भएको छ। प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP/UNDP) र फेडरलिज्म एण्ड लोकलाइजेशन सेन्टर (FLC) को सहकार्यमा एक दिने युवा सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सङ्घीयता कार्यान्वयन, समावेशी लोकतन्त्र, सरकारहरूबीचको तहगत अन्तरसम्बन्ध, युवाको भूमिका, सामाजिक समावेशीकरण तथा सहभागितामूलक शासन प्रणालीका विविध आयामबारे गहन छलफल गरिएको थियो। विशेषगरी GEDSI (लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण) का सवाललाई केन्द्रमा राखि विभिन्न विषयगत सत्रहरू सञ्चालन गरिएको थियो।

समूह कार्य, रोल–प्ले तथा खुला संवादमार्फत सङ्घीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी, साथै नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताबारे गहिरो विमर्श गरिएको थियो। सहभागीहरूले प्रतिनिधित्व मात्र पर्याप्त नभई वास्तविक समावेशिता सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए।

छलफलका क्रममा सामाजिक, भाषिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै समावेशी, उत्तरदायी र प्रभावकारी शासन प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता सहभागीहरुले औँल्याएका छन् ।
महिला, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राज्यका सबै तह थप जिम्मेवार बन्नुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए।

कार्यक्रम विभिन्न सत्रमा संचालन गरिएको थियो ।  ‘सङ्घीयताको बुझाइ’ सत्रमा सङ्घीयताको आधारभूत अवधारणा, सिद्धान्त र संरचनाबारे एफएलसीका अध्यक्ष तथा सङ्घीयताविद् डा. खिमलाल देवकोटाले सहजीकरण गरेका थिए ।

त्यसैगरी ‘जिम्मेवारी नक्साङ्कन प्रयोगशाला’ सत्रमा संघ, प्रदेश र स्थानीय तहबीचको कार्यगत जिम्मेवारीबारे संविधानसभा सदस्य प्रह्लाद लामिछानेको सहजीकरण रहेको थियो ।  उनले ‘बजेट सिमुलेसनः व्यवहारमा वित्तीय संघीयता’ सत्रमार्फत प्रदेशसभामा बजेटको सिद्वान्त र प्राथमिकता बारे अभ्यास गराएका थिए। ‘समावेशिता र सङ्घीयता–प्रतिनिधित्वभन्दा पर’ सत्रमा प्रतिनिधित्व र वास्तविक सशक्तिकरणबीचको अन्तरबारे राष्ट्रियसभाका पूर्वसदस्य प्रकाश पन्थले सहजीकरण गरेका थिए ।

‘युवा उत्तरदायित्व नवप्रवर्तन प्रयोगशाला’ सत्रमा युवा नेतृत्वमा आधारित शासन सुधारका व्यवहारिक समाधानबारे छलफल गरिएको थियो, जसको सहजीकरण मोहम्मद आयुबले गरेका थिए ।
एफएलसीका वरिष्ठ कार्यक्रम संयोजक कृष्णकुमार साहले अन्तर-सरकारी सम्बन्ध अन्तरगत “प्रदेश समन्वय परिषद” को बैठक अभ्यास सत्रमा अन्तर-सरकारी समन्वय र निर्णय प्रक्रियाको व्यवहारिक अभ्यास गराएका थिए।

यसैगरी अन्तिम सत्र ‘प्रदेश युवा सङ्घीयता चार्टर’ मा सम्पूर्ण सिकाइलाई एकीकृत गर्दै प्रदेशस्तरीय युवा सङ्घीयता घोषणापत्र तयार गरिएको थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका  युवा, विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा नागरिक समाजका ३९ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री  प्रकाश बम, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरू धर्मराज पाठक र जानकी ऐर (बम) लगायत विभिन्न सरोकारवालाहरूले कार्यक्रमको अवलोकन गरेका थिए ।

एफएलसीका अनुसार सङ्घीयता सम्बन्धी युवा संवाद श्रृङ्खला अन्तर्गत यसअघि मधेश प्रदेशको जनकपुर, कोशी प्रदेशको विराटनगर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा तथा लुम्बिनी प्रदेशको दाङ (देउखुरी) मा कार्यक्रम सम्पन्न भइसकेका छन्।

आगामी जेठ २५ गते सोमबार कर्णाली प्रदेशमा राजधानी सुर्खेतमा पनि संवाद कार्यक्रम  संचालन गरिने आयोजकले बताएका छन् ।


२२ जेठ २०८३, शुक्रवार १८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु