कोरोना संक्रमणकाबीच बैतडीमा फैलियो डेंगु र स्क्रब टाइफस
बैतडीमा डेंगु र स्क्रब टाइफसको संक्रमण फैलिएको छ । जिल्लामा साउन यता स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दशरथचन्द नगरपालिका २५ महिला र ११ पुरुष गरी ३६ जना, पाटन नगरपालिकाका ३ महिला र एक पुरुष गरी चार जना, दोगडाकेदार गाउँपालिकाका ४ महिला र २ पुरुष गरी ६ जना, मेलौली नगरपालिकाका १ महिला, पञ्चेश्वर गाउँपालिकाका १ पुरुष र सिगास गाउँपालिकाका १ महिलामा स्क्रब टाइफस पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए ।
जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरु उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिए । गत आर्थिक बर्षमा जिल्लाभरी ४० जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो । यो बर्ष भने एक महिनाकै अवधिमा ४९ जना स्क्रब टाइफसको संक्रमण पुष्टि भएको उनले बताए ।
माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
यस्तै जिल्लामा डेंगुका बिरामी पनि देखिन थालेका स्वास्थ्य कार्यायले जनाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका २ महिला र १ पुरुष गरी तीनजनामा डेंगु रोग देखा परेको जोशीले बताए ।
डेंगु एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीको जोड छ । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन् भने डेंगु भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।
१७ भदौ २०७७, बुधवार १५:०८ बजे प्रकाशित































