निषेधाज्ञा फेरि एक हप्ता लम्बिने
काठमाडौं, भदौ १७
काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । तर, कस्तो मोडालिटीमा निषेधाज्ञा जारी गर्ने भन्ने बारेमा गृह मन्त्रालयमा छलफलमा भइरहेको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निश्कर्ष निकालेको थियो।
बुधबार राति १२ बजे निषेधाज्ञा सकिने भएकोले बुधबार अपरान्हसम्ममा निषेधाज्ञा थपिएको सूचना जारी गर्ने तयारी छ। गृहमन्त्रालयले दिने निर्देशनका आधारमा निषेधाज्ञाबारे थप छलफल र निर्णय हुने जानकारी भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिइन्।
निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे छलफल गरिएको हो। नेपाल उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्र, स्थानीय निकाय लगायत सरोकारवालासँग परामर्श गरेर निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो।
मंगलबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भर्चुअल बैठक भएको थियो। उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीनै सिडिओलाई दिएको छ।उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए।
भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते राति १२ बजेसम्मका लागि उक्त आदेशलाई निरन्तरता दिइएको थियो। अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या चालिस हजार नाघिसकेको छ। अहिले उपत्यकासहित मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी छ।
१७ भदौ २०७७, बुधवार १४:२० बजे प्रकाशित































