बाह्रबिसेको ४ नम्बर वडा शिल, मृत्युसंस्कारमा गएकालाई क्वारेन्टाइनमा बस्न अनुरोध
सिन्धुपाल्चोक, साउन २८ । बाह्रबिसे नगरपालिका ४ का ८४ बर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको ४ नम्बर वडा शिल गरिएको छ ।
काठमाडौ स्थित मनमोहन कार्डियो भाष्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा उपचारका क्रममा २३ साउनमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाह्रबिसे नगरपालिकाको ४ नम्बर वडा शिल गरिएको हो । काठमाडौमा मृत्यु भएपछी दाहसंस्कारका लागि शव बाह्रबिसे ल्याईएको थियो ।
दाहसंस्कारका क्रममा सिन्धुपाल्चोक र अन्य जिल्लाका सयौँ मानिस मलामी गएका थिए । पूर्वपट्टी कर्थली बुदेपा, उत्तरपट्टी खगदल खोला, पश्चिम राम्चे बजार र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोसी बजारको सिमाना भित्र मानिसहरूको आवत जावत र अन्य क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको उपमेयर सुशिला पाख्रिनले जानकारी दिईन् । दाहसंस्कारमा सहभागी भएका तथा किरियापुत्री भेट्न गएका सबैलाई घर बाहिर ननिस्कन समेत सार्वजनिक रुपमा आग्रह गरिएको छ ।
सिन्धुपाल्चोक जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले साउन २२ गते बाह्रबिसे ४ का ८४ वर्षीय पुरुषको मृत्यु संस्कारमा गएका तथा त्यसपछि परिवारको सम्पर्कमा पुगेका सबैलाई आफ्नै घरमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि मृतकको अन्तिम संस्कारमा सहभागीहरुमा त्रास फैलिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुपाल्चोकले मंगलबार जरुरी सूचना जारी गर्दै उक्त संस्कारमा सहभागी सबैलाई अर्काे सूचना जारी नभएसम्म आ–आफ्नै घरमा सुरक्षित रुपमा क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको हो । २२ गते मृत्यु भएका ती व्यक्तिलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र पुष्टि गरेको हो ।
२८ साउन २०७७, बुधवार ०५:४९ बजे प्रकाशित































