बुवाको मृत्यु भएको ६ महिना नपुग्दै आमा बेपत्ता , ३ जना नाबालक छोराहरुको बिचल्ली
डोटी २४ , साउन । लामो समयसम्म बिरामी रहेका बुवाको करिब १५ महिना अघि मृत्यु भयो । बुवाको मृत्यु भएको ६ महिना नपुग्दै आमा एकाएक सम्पर्कविहीन भइन । बुवाको मृत्यु पछि एक मात्र साहारा रहेकी आमा पनि बिपत्ता भए पछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना नाबालकहरुको बिचल्ली भएको छ ।
“५५ वर्षीय बुवा बाजी खातीको करिब १५ महिनाअघि दम र क्षयरोगका कारण मुत्यु भएको थियो । बुवाको मृत्यु भएको छ महिनापछि नै आमासमेत सम्पर्कविहीन भइन “। स्थानीय विद्यालयका शिक्षक दीपकबहादुर खातीले भने ।
उनले भने ‘स्थानीयस्तरमा हामीले सकेजति गर्दैछौँ तर अभिभावक नै सम्पर्कविहीन भएपछि नाबालकहरुको विचल्ली भएको छ ।’ श्रीमानकाे मृत्यु भएको केही महिनामा नै भारत को उडिसा माइती भएकी गोमा खातीले नाबालक छोराहरु छोडेर सम्पर्क विहीन भइन ।
नौ वर्षका लक्ष्मणले आफ्ना दुईजना भाइहरू दुई वर्षका कृष्ण र चार वर्षका गणेशको रेखदेख गरिरहेका छन् । घरमा खाना पकाएर दिने अभिभावकसमेत नहुदा उनिहरूलाई दैनिक छाक टार्नसमेत समस्या हुने गरेको छ । आफ्नो साथै भाइहरूको सरसफाइ गर्नेदेखि छाक टार्ने व्यवस्था गर्न लक्ष्मणलाई समस्या परेको छ ।
नयाँ मान्छे देखे राम्रोसँग कुरासमेत गर्न नसक्ने अवस्थाका लक्ष्मणले छिमेकीसँगै मागेर भए पनि छाक टार्नुपरेको छ । छिमेकीले दिएको खानेकुरा खाएर पेट पालिरहेका उनिहरूलाई छिमेकीले पनि सधैँभरि खाना दिएर पाल्नसक्ने अवस्था छैन ।
स्थानीय डबल साउदले भने , ‘स्थानीय बासिन्दाहरूले पनि आफ्नै छोराछोरीका लागि पनि सबैले पर्याप्त लालनपालन गर्ने अवस्था छैन, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाई हेर्न धेरै गाह्राे भएको छ ।’ स्थानीय युवाहरूले बालकहरूको अवस्थाको बारेमा स्थानीय तहमा जानकारी गराइएको बताएका छन् ।
२४ साउन २०७७, शनिवार १८:०१ बजे प्रकाशित































