क्वारेन्टाइनबाट घर फर्केकाहरुमा पनि देखियो कोरोना, २४ जनामा संक्रमण
बझाङ, साउन २३ । बझाङमा क्वारेन्टाइनमा बसेर फर्किएका व्यक्तिहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिकामा क्वारेन्टाइनबाट घर फर्केका थप २४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसअघि ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार र विहीबार देखिएका नयाँ संक्रमितहरु समुदायमा घुलमिल भइसकेकाहरु छन् । संक्रमितहरु घर गएर परिवार र समुदायका मानिसहरुको सम्पर्कमा गएको देखिएपछि उनीहरुको सम्पर्कमा आएका ३ सय ५० जनाको थ्रोट स्वाब संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रवक्ता लोकेश भण्डारीले संक्रमितको सम्पर्कमा आएका अरु मानिसहरु पत्ता लगाउने काम भइरहेको बताए । समुदायमा घुलमिल भइसकेकाहरुमा संक्रमण देखिएपछि गाउँपालिकाका वडा नं ६ र ७ मा जिल्ला प्रशासन कार्यालयले साउन १९ देखि ३२ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
२३ साउन २०७७, शुक्रवार ११:०९ बजे प्रकाशित













