सडक निर्माणका क्रममा ढुंगा खसेर एक बालिकाको मृत्यु
बाजुरा । बाजुरामा सडक निर्माणका क्रममा खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ की १४ वर्षीया आकाशी कुमालको खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
गाउँपालिकामा निमार्ण भइरहेको जोरु–गोठीगाउँ सडक खण्डमा गोरु चराउन गएका बेला डोजरले खनिरहेको ढुगां खसेर बालिका घाइते भएकी थिइन ।
घाइते भएकी बालिकालाई उपचारका लागि शनिवार दिउसो कोल्टी अस्पतालमा पुर्याइएको र उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
२१ साउन २०८१, सोमवार ११:५७ बजे प्रकाशित































