सुदूरपश्चिममा तीन दलबीच भागबन्डा, को-को बन्दैछन् मन्त्री ?
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच भागबन्डा टुङ्गिएको छ ।
सहमति अनुसार काङ्ग्रेस मुख्यमन्त्रीसहित तीन मन्त्रालय, एमाले तीन र नागरिक उन्मुक्तिले एक मन्त्रालय पाउने भएको छ ।
दलहरूबीच मन्त्रालयको पनि भागबन्डा भैसकेको छ ।
नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय, नेकपा एमालेले आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र भूमि व्यवस्था तथा कृषि मन्त्रालय परेको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने सहमति भइसकेकाे छ ।
मन्त्रालयमा काङ्ग्रेसबाट मेघराज खड्का र बहादुर थापा मन्त्री बन्दै छन् ।
एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएकाे बताएको छ ।
यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलकाे बैठकले गर्नेछ ।
एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर साेडारी नेतृत्वकाे सरकारमा सहभागी थिए ।
सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
२१ साउन २०८१, सोमवार १३:४६ बजे प्रकाशित































