punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सम्झौताको एक वर्षसम्म अस्पतालको काम सुरु भएन

Chaupati
safha napa

डोटीको जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा निर्माण हुने भनिएको १५ शय्याको अस्पताल निर्माणको काम अलपत्र परेको छ । सम्झौता भएको एक वर्ष बितिसक्दासमेत निर्माण कार्यको सुरु गरिएको छैन । सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज नन्द देउवाले भने,‘अस्पताल भवन निर्माणका लागि गत वर्ष नै सम्झौता भएको भन्ने त सुनेका हौँ तर निर्माणस्थलमा कुनै काम भएको छैन । पहिलै जमिन सम्याइएको थियो, सम्झौता भएपछि थप केही पनि भएको छैन ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा निर्माण हुने भनिएको उक्त अस्पताल भवनका लागि गाउँपालिका र निर्माता कम्पनी राजेन्द्र निर्माण सेवाबीच २०७८ साउन १९ गते सम्झौता भएको थियो । सम्झौताअनुसार उक्त कार्य २०८० असार मसान्तमा सम्पन्न भइसक्नुपर्ने हो । सम्झौता भएको एक वर्षसम्म भौतिक प्रगति जम्मा १ प्रतिशत मात्रै भएको गाउँपालिकाले जानकारी दिएको छ ।

१८ करोड छ लाख ८२ हजार रुपैयाँ कुल लागत अनुमान रहेको उक्त भवनमा निर्माता कम्पनीले ११ करोड २१ लाख ५८ हजार ६३९ रुपैयाँ अर्थात् लागत अनुमानको ६२ प्रतिशतमै काम सम्पन्न गर्ने कबोल गरेको थियो । निर्माता कम्पनीले कामै सुरु नगरेको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्टले बताए । निर्माता कम्पनीले काम सुरु गर्ने भन्दै गत वर्ष एक करोड ९६ लाख ८० हजार रुपैयाँ पेस्की लिएपछि साइटमै नआएको गाउँपालिकाका इन्जिनियर नरेशकुमार भट्टले जानकारी दिए ।

अस्पताल निर्माण गर्ने कार्यमा निर्माता कम्पनीले लापरबाही गरेको गाउँपालिकाले जानकारी दिएको छ । ‘भवन निर्माणका लागि फिल्ड सम्याउने काम मात्रै भएको छ’, गाउँपालिकाका सूचना अधिकारी चन्द्रसिंह ऐडीले भने,‘अस्पताल निर्माणका लागि गाउँपालिकाले पटकपटक निर्माता कम्पनीलाई फोनमार्फत र भेटेरसमेत ताकेता गरेको भए पनि कम्पनीले अटेरी गरिरहेको छ ।’ अस्पताल निर्माणमा निर्माता कम्पनीले लापरबाही गरिरहेको विषयमा जिल्ला प्रशासन कार्यालय, डोटी र प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समेत जानकारी गराइएको गाउँपालिकाले जानकारी दिएको छ ।


२३ भदौ २०७९, बिहीवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु