सुदूरपश्चिममा माओवादी र कांग्रेसबीच छलफल, एकीकृत समाजवादीलाई बोलाइएन
सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई सहभागी नगराएर नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच छलफल भएको छ । सुदूरपश्चिममा तीन दलबीच पनि भागबण्डामा कुरा नमिले पनि बुधबार नेपाली कांग्रेस र माओवादीले छुट्टै छलफल गरेका हुन् । उक्त छलफलमा एकीकृत समाजवादीका कुनै पनि प्रतिनिधि उपस्थित भएनन् ।
कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले तीनै दलले धेरै स्थानीय तहमा दाबी गरेपछि छुट्टाछुट्टै छलफल गर्नु परेको दाबी गरे ।
उनले नेकपा एकीकृत समाजवादीसँग छलफल गर्ने बताए । दार्चुला जिल्लामा कांग्रेस र माओवादी तालमेल गरेर एकीकृत समाजवादीलाई कुनै पनि पालिका नदिएको भन्दै उनीहरू रुष्ट भएका छन् ।
धनगढीमा पनि कांग्रेसलाई मेयर माओवादीलाई उपमेयर दिएपछि असन्तुष्टिका स्वर बाहिर आइरेहका छन् ।
सुदूरपश्चिम प्रदेशमा चार दलीय तालमेल मात्रै हुने छ । पाँच दलभित्रै रहेको जनता समाजवादी पार्टीले यसअघि नै सम्मानजनक भूमिका नभएको भन्दै गठबन्धन तोडिसकेको छ ।
कांग्रेस र माओवादी केन्द्र मात्रै बसेको बुधबारकै बैठकमा पनि ठोस सहमति भने भएको छैन । छलफल सकारात्मक भए पनि सहमति नभएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ । माओवादीले ३० स्थानीय तहमा दाबी गरेको छ । एकीकृत समाजवादीले २० पालिका दाबी गरेको छ ।
७ वैशाख २०७९, बुधवार २१:३६ बजे प्रकाशित































