punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सहजपुर- बोगटान सडक : तीन वर्षमा साढे चार किमी कालोपत्रे

Chaupati
safha napa

करिब तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डोटी र कैलालीमा पर्ने सडक कालोपत्रे योजना अझै लथालिंग अवस्थामा छ।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका– ५ गाणेबाँजसम्म ५० किलोमिटर सडक ३० महिनाभित्रै कालोपत्रे गर्ने भनेर पिआरएल कुमार जेभी निर्माण कम्पनीसँग सम्झौता छ। तर, तीन वर्ष (३६ महिना) पूरा भइसक्दा पनि हालसम्म साढे चार किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल सरकारका प्रधानमन्त्री भएका बेला २०७५ फागुन ७ गतेका दिन डोटीको बिपीनगरमा हेलिकप्टरमा आएर सहजपुर–विपीनगर–बोगटान–दिपायल सडक खण्ड कालोपत्रे गर्ने भनेर शिलान्यास गरेका थिए। तर, उक्त सडक कालोपत्रे योजना हालको अवस्थासम्म आइपुग्दा शिलान्यासमा मात्रै सीमित रहेको पाइन्छ।

सडकमा पर्ने रूख काट्ने आदेश नपाएकाले, बेमौसमी वर्षा तथा कोरानाका कारण समयमा काम गर्न नसकिएको सहजपुर, बोगटान, दिपायल सडक आयोजनाका आयोजना प्रमुख उज्वल श्रेष्टले बताए।

‘२७-२८ महिनापछि मात्रै रूख काट्ने आदेश आयो’, श्रेष्ठले भने, ‘उक्त योजनाभित्र चुरे क्षेत्र पर्ने भएकाले बेमौसमी वर्षाको समस्या झेलिराख्नु परेको छ।’

२०७९ असारसम्म योजनाको म्याद थप भएको र असारसम्म ३३ किलोमिटर सडक कालोपत्रे हुने उनले दाबी गरे। दोस्रो म्याद थपका लागिसमेत सिफारिस भइसकेको उनले बताए।

आउँदो माघसम्म काम गरिसक्छौँ

सहजपुरबाट साढे चार किलोमिटर कालोपत्रे भएको र १३ किलोमिटर ग्रावेल ९सब बेश० भइसकेको योजना सुपरभिजन कन्सलटेन्टका पुष्प भट्टले जानकारी दिए।

‘५४ प्रतिशत भौतिक प्रगति भइसकेको र ४८ प्रतिशत आर्थिक प्रगति भइसकेको छ’, भट्टले भने, ‘२०७९ माघसम्मको समय थपका लागि फेरि सिफारिस गरेर पठाएका छौँ, आउँदो माघसम्म काम पूरा हुन्छ।’ ५० किलोमिटर सडक कालोपत्रे योजना करिब २ अर्ब लागतमा भइरहेको उनले जानकारी दिए।

सडक कालोपत्रे गर्दा धेरै समस्या देखिएको पिआरएल कुमार जेभी निर्माण कम्पनीका कन्ट्रयाक्ट मेनेजर तेज भट्टले बताए। ‘करिब साढे दुई वर्षसम्म सडक क्षेत्रका रुख कटानको आदेशनै दिइएको थिएन’, भट्टले भने, ‘तत्कालीन वनमन्त्री प्रेम आलेमगर हुँदा रूख काट्ने आदेश दिएको र अहिले रूख काट्ने काम पूरा भइसकेको छ, अब काम तीव्र गतीमा अगाडि बढ्छ।’ बमौसमी वर्षाका कारण पनि काममा ढिलाइ भइरहेको उनले बताए।

काम हुँदै गर्दा एक्कासि पर्ने वर्षाले संरचनानै भत्काउने समस्याले काममा ढिलाइ भइरहेको निर्माण कम्पनीले जनाएको छ।

२०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु भएको थियो। ट्रयाक खोल्न सुरु भएको ३४ वर्ष पूरा हुँदा पनि कालोपत्रे भने साढे चार किलोमिटर मात्रै भएको छ। उक्त सडक कैलालीको सहजपुरबाट डोटीको बिपीनगर, बोगटान हुँदै दिपायलसम्म जोडिएको छ।

सडक संचालन भएको बर्षौ भइसक्दासमेत कालोपत्रे नहुँदा स्थानीयले समस्या झेल्दै आइरहेका छन्। ‘तत्कालीन समयमा प्रधानमन्त्री आफैँ आएर शिलान्यास गरेकाले अब सडक पिच हुने भयो भनेर साह्रै खुसी भएका थियौं’, स्थानीय तेजबहादुर मौनीले भने, ‘तर तीन वर्ष भइसक्दा समेत कुनै काम नभएकाले अब पिच नै हुँदैन कि भन्ने चिन्ता बढेको छ।’

सडक कालोपत्रेको काम हुन छोडेर सडक आयोजना कार्यालय र ठेकेदार मिलेर पैसा खाने काम मात्रै भइरहेको उनले गुनासो गरे। समयमा काम नहुनु दुखद भएको भन्दै सम्बन्धित सबैलाई निगरानीमा राख्नुपर्ने मौनीले बताए।

अब सम्बन्धित सबै स्थानीयले चासो देखाएर काम गर्ने निकायलाई घचघच्याउनु पर्ने स्थानीय भीमबहादुर बोहराले बताए। ०७८ असारसम्म काम सक्नेगरी उक्त ५० किलोमिटर सडक कालोपत्रे योजनाको सम्झौता २०७५ मंसिर २२ गते पिआरएल कुमार जेभीसँग भएको थियो।


३० चैत २०७८, बुधवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु