विमानस्थलको सुरक्षा जाँच छल्न सुन तस्करको नयाँ जुक्ति
शनिबार बिहान ९ः३० बजे उडान नम्बर एच ९५६६ को हिमालय एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।
सो समयमा विमानस्थलमा खासै चाप थिएन । जसका कारओ चेक आउटमा पनि खासै भीड थिएन । दुबईबाट काठमाडौं उत्रिएका जहाजका यात्रुहरु अध्यागमन र सुरक्षा पास गर्दै चेक आउट भइरहेका थिए ।
सोही लाइनमा थिए चिनियाँ नागरिक झ्याङ ली ।‘विमानस्थलबाट बाहिरिन अघि बढेका उनको लगेज एक्सरेमा पास भयो, उनी पनि मेटल डिटेक्टर जाँचमा शंकास्पद देखिएनन्’ विमानस्थल भन्सारका एक अधिकारीले अनलाइनखबरसँग भने ।
विमानस्थलको प्राविधिक सुरक्षा पास भएर अघि बढेका उनलाई विमानस्थल सुरक्षाकर्मीले शरीर छामेर खानतलासी गरे । अधिकारीहरुलाई उनको साथमा केही वस्तु भएको शंका भयो ।
अधिकारीहरुले उनलाई कपडा खोल्न भने। उनको शरीरमा बाँधिएको अवस्थामा ७ वटा भिन्दा–भिन्दै प्याकेट फेला पर्यो । प्याकेटमा मकैको लेदो जस्तो वस्तु थियो । ‘सुन वा अन्य कुनै धातु भएको भए विमानस्थलको प्रविधिले थाहा पाउँथ्यो, लगेज क्लियर छ, मानिस पनि मेटल डिटेक्टरबाट क्लियर भएको छ, तर पहिचान नभएको वस्तु र पोकासहित ती मानिस पक्राउ परे,’ ती सुरक्षा अधिकारी भन्छन्, ‘फेला परेको वस्तु चाहिँ के हो भन्ने कुरामा हामी अन्यौलमा पर्यौं ।’
पक्राउ परेका लीलाई प्रहरी हिरासतमा राखेर शनिबार नै उक्त शंकास्पद वस्तु भन्सार विभागको ल्याब परीक्षणमा पठाइयो । ल्याब रिपोर्टले उक्त वस्तु नेपालमा प्रयोग हुने गुणस्तर बराबरको सुन भएको र त्यसको परिमाण ४ किलो ८ सय ४० ग्राम रहेको पुष्टि भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले बताए ।
भन्सारको रिपोर्टअनुसार उक्त सुनको परिमाण तोलामा चार सय १४ तोला ९५ ग्राम हुन्छ । जसको बजार मूल्य आइतबारको सुनको मूल्यअनुसार ३ करोड ९६ लाख रुपैयाँ २७ हजार ७ सय रुपैयाँ बराबर छ ।
सुनको लेदोमा रसायन भन्सारको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका चिनियाँ नागरिक ली सुन तस्कारीका पेशेबर हुन् । प्रविधिक र सुरक्षा जाँचलाई छल्न माहिर उनले सुनलाई धुल्याएर मकैको पिठो जस्तो बनाएको र रसायनले घोलेर लेदो बनाएको भेटिएको भन्सार प्रमुख भट्टराईले बताए ।
एक्सरेमा यस्तो वस्तु देखिने भए पनि मेटल डिटेक्टरले सुनको धेरै सानो परिमाण थाहा नपाउने र झनै त्यसमा रसायन प्रयोग गर्दा कसैले थाहा नपाउने भन्ने उदेश्यसहित सुन ल्याएको पाइएको उनको भनाइ छ ।
‘बरामद गरिएको पोकामा रोटी पकाउन अघि मुछेको मकैको पिठो जस्तै वस्तु छन् । मानिसलाई एक्सेरेमा राख्न नमिल्ने र मेटलले नदेख्ने भएपछि उनले यो उपाय अपनाएको देखिन्छ’ भन्सार प्रमुख भट्टराईले भने ।
नेपाली भन्सारको प्रविधि र सुरक्षा जाँच बारे जानकार ली पक्राउ पर्न विमानस्थल प्रहरीको ठूलो भूमिका भएको उनको भनाइ छ । लीको पक्राउसँगै सुन तस्करी अनुसन्धानमा प्रयोग भएको रसायन र सुनको सानो कणलाई मेटलले कसरी जाँच गर्छ भन्ने पनि अनुसन्धान गर्नु पर्ने देखिएको भट्टराईले बताए ।
१ फागुन २०७८, आइतवार १६:१५ बजे प्रकाशित































