कैलालीमा लागुऔषध कारोबार : ६ महिनामा एक सय बढी व्यक्ति पक्राउ
लागु औषध कारोबारीहरूको अखडा बनेको कैलालीमा पछिल्लो छ महिनाको अवधिमा त्यसमा संलग्न एक सय बढी व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको २०७८/७९ को पहिलो ६ महिनाको तथ्याङ्क अनुसार जिल्लामा १०७ जना व्यक्ति लागु औषधसहित पक्राउ परेका छन् ।
जसमध्ये पाँच जना महिला छन् । पक्राउ परेका १०७ जना विरुद्ध ७२ मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्ष सोही अवधिमा ४३ मुद्दामा ५७ जना व्यक्ति पक्राउ परेका थिए ।
यस वर्ष गत वर्षको ६ महिनाको तुलनामा सोही अवधिमा ६७.४४ प्रतिशत बढी मुद्दा दर्ता भएका छन् भने ८७.७१ प्रतिशत बढी मानिस पक्राउ परेको अधिकारीले बताए । उनका अनुसार पक्राउ पर्नेहरू विशेष गरी युवा पुस्ता अर्थात् १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवती बढी छन् ।
पक्राउ परेका १०७ जनामध्ये ६१ जना १६ देखि २५ वर्षमुनिका व्यक्ति रहेको अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष कैलाली प्रहरीले १९९ ग्राम ४३७ मिलिग्राम खैरो हिरोइन, ५५८ ट्याब्लेट नाईट्राभेट, ५५५ क्याप्सुल स्पास्मो, २३ किलो १४० ग्राम चरेश, ८० क्याप्सुल नाईट्राजपाम, प्रोवयल स्पाम २३ क्याप्सुल लगायत बरामद गरेको छ ।
खुला सीमाबाट भित्रिन्छ लागुऔषध
भारतसंगको खुला सीमाना भएका कारण कैलालीमा सजिलै लागुऔषध भित्रिने गरेको प्रहरीको भनाई छ । जिल्लाका मुख्य नाका गौरीफंटा र खक्रौला हुन् । सीमापारि भारतीय बजारमा सजिलैसंग किनमेल गर्न जान सकिन्छ ।
यी दुई नाकाबाट भारतीय बजारहरू बनगाउँ र तिकुनिया नेपालीहरूलाई लक्षित गरेर सञ्चालित बजार हुन् । लागुऔषध खुला नाका हुँदै भित्रिरहेकोबारे जानकार रहेको प्रहरीले यसलाई नियन्त्रण गर्न भने सकिरहेको छैन ।
विशेष गरी भारतसँग सीमा जोडिएका कारण सजिलैसंग भारतीय कारोबारीहरूले सीमा वारि लागुऔषध कारोबार गरिरहेको प्रहरीको अनुमान छ । खुला सीमा जसले सजिलै किनमेलको बहाना बनाएर भारतीय बजार प्रवेश गर्ने र उतैबाट सेवन गरेर आउने गरेको पनि भेटिन्छन् । प्रहरीको नियन्त्रणमा पुग्ने पनि स–साना परिमाणमा प्रयोग गर्नेहरुमात्र पुग्छन् ।
प्रहरीकै अनुसार सिधै भारतीयहरू नै प्रयोगकर्तासंग सम्पर्कमा हुने हुँदा कारोवारीहरुसम्म पुग्न प्रहरीलाई सकस छ । यता सीमावारि सानो–सानो परिमाणमा विक्री वितरण हुने गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अधिकारीका अनुसार कैलालीको मुख्य नाका गौरीफंटा निकै कडाइ गरिएको भए पनि पर्याप्त मात्रामा सीमा छेउका बासिन्दा, सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको समन्वय हुन सकेको छैन । लागू औषध भित्रिने नाकामा कडा निगरानी हुनसके नियन्त्रण गर्न सहज हुने उनी बताउँछन् ।
खुला सीमाका साथै लागुऔषध सम्बन्धी कुनै स्क्यान÷प्रविधि यन्त्र प्रहरीसँग नहुनु पनि सहज रुपमा स–सानो परिणाममा दैनिक लागुऔषध जिल्ला भित्रिने गरेको छ । आफूहरुलाई लागुऔषधको कारोबार भइरहेको बारेमा पनि निकै कम मात्रामा सूचना आउने गरेको अधिकारी बताउँछन् । सूचना आएअनुसार नै प्रहरीले निगरानी बढाउने र छापा मार्ने गरेको उनको भनाइ छ ।
रोकथाम र नियन्त्रण
लागुऔषधको रोकथाम र नियन्त्रणबारे जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताइरहेको छ ।
अधिकारीले पनि जिल्लाको कमाण्ड सम्हाल्ने बित्तिकै लागू औषधविरुद्ध ‘भविष्य बचाऔँ’ अभियान सञ्चालनमा ल्याएका थिए । जस अन्तरगत सामुदायिक प्रहरी साझेदारीमार्फत समुदाय, टोल र विद्यालयसँग समन्वय गरी जनचेतना मूलक कार्यक्रम पनि गर्दै आएका छन् । तर यस्ता खालका कार्यक्रमले मात्र लागुऔषध नियन्त्रण हुन सकिरहेको छैन ।
‘पहिलो कुरा आम अभिभावकमा चेतनाको विकास हुन आवश्यक छ,’ अधिकारीले भने, ‘घरबाटै बालबालिकालाई गलत सङ्गतमा फस्नबाट जोगाउनु पर्छ ।’ सरकारी तथा विभिन्न गैरसरकारी संघ–संस्थाले लागुऔषध नियन्त्रणबारे बेलाबखत कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोबारमा कमी आएको छैन ।
परिवार तथा अभिभावकको हेलचक्य्राई र निगरानी अभावमा युवा पुस्ता लागुऔषधको लतमा फस्दै गएको अधिकारीको भनाइ छ । लागुऔषध ऐन २०३३ अनुसार यसबारे अध्ययन, अनुसन्धान र कारबाही गर्ने गरिएको छ । पक्राउ परेकाहरूलाई लागुऔषधको परिमाण हेरेर कारबाही गर्ने गरिन्छ भने कोहीलाई पुर्पक्षका लागि थुनामा राखिन्छ ।
२१ माघ २०७८, शुक्रवार ०९:४६ बजे प्रकाशित































