ओझेलमा खक्रौला नाका
नेपाल–भारत सिमाना कैलालीको मोहना नदीको खक्रौलामा पुल बने पनि चहलपहल भने हुन सकेको छैन । सुदूरपश्चिमको मुख्य नाकाको रूपमा विकास गर्ने भनिएकोमा यो नाका अझै ओझेलमा परेको छ ।
‘खक्रौला मूल भन्सार भएपछि टीकापुर व्यापार व्यवसायका लागि ट्रान्जिट बन्छ भन्ने आशा थियो,’ टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले भने, ‘टीकापुर क्षेत्रको पर्यटन व्यवसाय फस्टाउनुका साथै व्यापार पनि बढ्छ भन्ने लागेको थियो र यसलाई मूल भन्सार बनाउनुपर्छ भनेर लागेको हौं । तर यो ओझेलमै छ ।’
कोरोनाका कारण पनि यो भन्सारबाट धेरै सर सामान आयात निर्यात हुन नसकेको उनले बताए । उनले भने, ‘भारतबाट भित्रिने गाडी पीसीआर रिपोर्ट नभएर नेपाल प्रवेशमा रोक लगाएको थियो । सहजीकरण गरेर गाडी आउने व्यवस्था भने भएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘हाम्रै अटोवालाले भारतीय गाडी आउन नदिने सिन्डिकेट लगाएको खबर पनि पाइएको छ । नाकालाई सहज बनाउन जरुरी छ ।’
स्थानीय शिक्षक भीम विकले भने, ‘पुल मात्र बन्यो । पुलसंँग जोडिएका बाटाहरू बनाउने काम हुन सकेन । खक्रौला नाकाबाट टीकापुर हुँदै ताक्लाकोटसम्म सेती लोकमार्ग बनाउने हल्ला मात्र भयो । सुदूरपश्चिमका पहाडी जिल्लासित यो नाकालाई जोड्ने प्रयास भएन ।’
पूर्वपश्चिम हुलाकी राजमार्गका कारण बर्दियाको राजापुर क्षेत्रका बासिन्दाले पनि यो नाका प्रयोग गर्ने आशा गरिएको छ । यो नाकाबाट सामान्यतया नेपाल—भारत सीमाको तिकुनिया बजारबाट सर सामान ल्याउन आउजाउ भइरहेको छ । कोभिडका कारण बन्द यो नाका खुलेपछि तिकुनिया बजारसम्म जाने सर्वसाधारणको आउजाउ भने भइरहेको स्थानीय मानबहादुर ठकुल्लाले बताए ।
उनले भने, ‘तिकुनियामा सस्तो सामान पाइन्छ भनेर धेरै उपभोक्ता उतै जाने गर्छन् । खक्रौला नाकामा रहेको मोहना नदीमा पुल नहुँदा तिकुनिया बजार आउजाउ असजिलो थियो । पुल बनेपछि सरर तिकुनिया बजार जान सकिने भएको हो ।’कोभिडको खोप लगाएकालाई भारतीय सुरक्षाकर्मीले प्रवेश दिएको इलाका प्रहरी कार्यालय सत्तीका प्रमुख प्रहरी नायब निरीक्षक चंखबहादुर कठायतले बताए ।
उनका अनुसार नाका खुलेपछि दैनिक उपभोग्य सामानका लागि सीमा क्षेत्रका बासिन्दा साइकल तथा मोटरसाइकलबाट तिकुनिया बजारसम्म जान थालेका छन् । नाका बन्द हुँदा सर्वसाधारण यहाँका स्थानीय बजार टीकापुर, लम्कीमा किनमेल गर्ने गर्थे ।कान्तिपुरबाट
२५ मंसिर २०७८, शनिवार १८:१६ बजे प्रकाशित































