punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीपीडितको पीडा : कोही नदीको बाँधमा, कसैको पुलको बास

Chaupati
safha napa

कर्णाली नदीको बाँध (ड्याम)मा त्रिपाल टाँगेर बसिरहेका पुनिराम चौधरी आइतबार चुल्होमा पिडालुको पात उसिन्दै गरेको अवस्थामा भेटिए । बेलुकी झिस्मिसे अँध्यारो हुनै लागिरहेका बेला भेटिएका उनको बास पनि त्यही बाँधमै भइरहेको छ । पाँच जनाको परिवारसहित उनी एक हप्ता अघिदेखि नदीको बाँधमै बसिरहका छन् । खाना त्यहीँ पाक्छ । सुत्छन् पनि त्यहीँ । नजिकै यतातिर घर हिलोमा छ ।

कैलालीको पूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको सत्ती क्षेत्रको फाँटा बस्तीमै छ उनको घर । जुन बस्ती नदीको बाँधसंगै जोडिएको छ । असोज ३१ गते रातिदेखि आएको वर्षासंगै कर्णाली नदीमा आएको बाढी बस्तीमा पसेपछि सत्ती क्षेत्र पुरै डुबानमा पर्यो । जसले गर्दा पुनीरामको परिवार पनि नदीको बाँधमा पुग्यो । काठ र माटोले बनाइएका घर पुरै हिलाम्य हुँदा उनीसहित बस्तीका बासिन्दा घर बाहिरै लागे । अहिले पनि पनि अधिकांश परिवार घर फर्किन सकेका छैनन् ।

‘बस्ती बाढीले डुब्न थालेपछि बचेको अन्न र बस्तुभाउ लिएर बाँधमा दौडियौं,’ पुनिरामले भने, ‘घर भित्रको भित्ता भत्काउनुका साथै हिलो हिलैहिलो भएपछि बाँधमै बसिरहेका छौं । हिलो नसुक्दासम्म यहीँ बस्नुको विकल्प छैन ।’ उनीहरु बाँधमा मात्रै पुगेनन् खेतमा लगाएको धान पनि जोगाउन सकेनन् भने घरमा भएको केही अन्नपात पनि बगायो । ‘खेतमा भएको बाली त बचाउन सकेनौं,’ उनले भने, ‘घरमा भएको अन्नपात पनि केही बग्यो र केही भिजेर कामै नलाग्ने भयो । बचेकुचेको ल्याएर कसैले बाँधमै रोखका छौं त कसैले पुलमा लिएर राखेका छन् ।’

फाँटाका बासिन्दा अहिले बर्दिया जोड्ने सत्ती पुल र त्यही कर्णाली नदीको बाँधमै त्रिपाल लगाएर बसिरहेका छन् । बर्दियाको राजापुरसंग जोडिएको टीकापुर नगरपालिकाको वडा नम्बर ८ मा पर्छ फाँटा । उक्त बस्तीका बासिन्दा एक हप्ता अघिदेखिनै पुल र नदी किनारको बाँधमै रात कटाइरहेका हुन् । ‘बंगुर, बाख्रा र गोरु र बचेको अन्नसहित पुलमै बसिरहेका छौं,’ स्थानीय पूर्णबहादुर चौधरीले भने, ‘गाडी चल्ने हुँदा रातिको समय केही दुघटना हुन्छ कि भन्ने अर्को पिर पनि छ ।’

अर्का सिताराम चौधरीको आठ जनाको परिवारको पनि बाँध र पुलकै बास छ । बाढीबाट बचेको केही धान र गहुँ पुलमा राखेका छन् भने गाईबाख्रा नदीको बाँधमा राखेका छन् । घर हिलोमा भइरहँदा उनको परिवारको बास पनि पुल र बाँधमै छ । ‘घर हप्तादिन वित्दासमेत बस्न लायक भइसकेको छैन,’ उनले भने, ‘पानी नसक्दासम्म सडककै बास हुन्छ ।’ ठेक्कामा धान खेती गर्दै आएका उनले १० विगाह जमिनमा लगाएको धानको एक मुठी पनि पाउन सकेनन् । उनीहरु फाँटा बस्तीका प्रतिनिधि पीडित मात्रै हुन् । यस्तो समस्या त्यहाँका हरेकले भोगिरहेका छन् । अधिकांश परिवारको बास पुल र बाँधमै छ । केही भने भत्केको र हिलोमा डुबेको घर सफा गर्दै र बनाउँदै विस्तारै घरतर्फ सामान ओसारिरहेका छन् ।

३० वर्षपछि पुनः विस्थापित हुने डर
अहिले बाढीमा डुबेको फाँटा बस्ती ३० वर्षअघि अर्थात २०४६ साल अघि सत्ती पुल भन्दा झण्डै पाँच सय मिटर दक्षिणतिरको टापुमा थियो । कर्णाली नदीको बाढीले टापु कटान गर्दै आयो । नदी वर्षेनि कैलालीतर्फको भू–भागमा सोझिँदै गयो । सैयौं विगाह जमिन नदीले कटान गर्यो ।

नदीले बस्ती रहेको टापु कटान गर्दै कमाई खाने जमिन पनि नरहेपछि त्यहाँका बासिन्दा २०४६ सालमा जमिनदारबाट ऐलानी जग्गा किनेर फाँटामा सरेका हुन् । त्यसबेला पनि जमिनदारले अर्को ठाउँमा नम्बरी जग्गा दिन्छु भनेर ५६ जना परिवारलाई त्यो ठाउँमा बसाएको उनीहरु बताउँछन् । तर जमिनदार पैसा खाएर फरार भएपछि उनीहरु सोही ठाउँमा बस्न बाध्य भए ।

‘त्यसबेला जमिनदारले प्रतिपरिवार ३ सय रुपैयाँका दरले पैसा लिएको थियो,’ सितारम चौधरीले भने, ‘अर्को ठाउँमा घरबास दिन्छु भनेर त्यसबेला यहीँ बसायो तर पछि फरार भयो ।’ उनले जमिनदारको नाम भने सम्झिन सकेनन् ।

नदी किनारमै रहेको बस्ती एक बाँधकै भरमा हालसम्म कटान हुनबाट बचेको छ । यद्यपि बस्ती बाढीले वर्षेनि डुबान भने भइरहेको छ । ‘यस्तै, हो भने यहाँबाट पनि छोडेर जानुपर्ने अवस्था आइसकेको छ,’ उनले भने । ‘कहिलेसम्म हामी यसरी सडकमै बस्न सक्छौं ।’ उनले आफूहरुको पीडाको बारेमा राज्यले पनि ध्यान दिनुपर्ने बताए ।


८ कात्तिक २०७८, सोमवार १८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु