कोभिशिल्ड र भेरोसेलमध्ये कुन खोपमा बढी छ रोग प्रतिरोधात्मक क्षमता ?
कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिशिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो ।
परिषद्ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोभिशिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको बताए ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमा एन्टिबडी देखिएको र खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जानकारी दिए ।
उनका अनुसार खोप नलगाएका व्यक्तिमा ४३ दशमलव नौ प्रतिशतमा एन्टिबडी देखिएको छ । यस्तै पहिलो मात्रा खोप लगाएकामध्ये ५५ दशमलव एक प्रशिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको छ ।
वरिष्ठ अनुसन्धान अधिकृत धिमालले खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै जानाका साथै केही व्यक्तिमा १५० दिनसम्म पनि एन्टिबडी देखिने बताए ।
अनुसन्धानकै क्रममा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका व्यक्तिमा एन्टिबडी परीक्षण गर्दा ५९ दशमलव आठप्रतिशत मात्र एन्टिबडी देखिएको छ ।
कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले कोभिड–१९ को सङ्क्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका व्यक्तिको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको बताए ।
खोप लगाएको दिनदेखि नमूना सङ्कलनको दिनसम्मलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेकामा ८२ दशमलव ३३ प्रतिशत एन्टिबडी देखिएको छ । यस्तै चौथो महिनामा एन्टिबडी क्रमशः घटेर ४३ दशमलव ७५ प्रतिशत मात्रा एन्टिबडी देखिएको छ ।
यस्तै अनुसन्धानकै क्रममा दीर्घरोगीमध्ये एउटै मात्र दीर्घरोगी भएका ७८ दशमलव नौ, दुईटा दीर्घ रोगी भएकामा ७१ दशमलव ६९ र तीन वटा दीर्घरोगी भएकामध्ये ४२ दशमलव तीन प्रतिशत एन्टिबडी देखिएको छ ।
कार्यकारी प्रमुख डा ज्ञवालीले कोभिड–१९ विरुद्धको खोप नलगाएका तथा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका ४६ प्रतिशत सहभागीमा पनि एन्टिबडी विकसित भएको देखिएकाले कोभिड–१९ समुदायस्तरमा फैलिएको हुनसक्ने बताए ।
अनुसन्धानलाई वैज्ञानिक बनाउने प्रयास गरिएको बताउँदै उनले खोप लगाएका व्यक्तिमा एन्टिबडी बढ्दै जाने गरेको बताए । काठमाडौँ विश्वविद्यालयको सहयोगमा गरिएको अध्ययनमा एक हजार २२७ पुरुष र ५७९ महिला सहभागी थिए ।
पचास दशमलव पाँच प्रतिशत औसत उमेरका व्यक्तिमा गरिएको अध्ययनमा १५ दशमलव चार प्रतिशत सहभागीमा सङ्क्रमण देखिएको थियो ।
कूल खोप लगाएकामध्ये ८५ दशमलव दुई प्रतिशतले कोभिशिल्ड, १४ दशमलव पाँच प्रतिशतले भेरोसेल, अन्य खोप लगाएका शुन्ना दशमलव दुई प्रतिशत थिए । खोप लगाएका १५ दिनदेखि १५० दिनसम्मका व्यक्ति अध्ययनमा सहभागी थिए ।
२३ असोज २०७८, शनिवार ०५:५६ बजे प्रकाशित































