रानी जमराबाट माघमा बिजुली
७ मिटर हेडबाट पानी खसालेर ३ वटा टर्बाइन जडान गरी बिजुली निकालिने
कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको मुख्य नहरको पानीबाट विद्युत् उत्पादन गर्ने काम अन्तिम चरणमा पुगेको छ । रानी जमरा कुलरिया आयोजनाको नहरमा आउने पानीबाट मूल नहरमै पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गर्न लागिएको हो ।
७ मिटर हेडबाट पानी खसालेर ३ वटा टर्बाइन जडान गरेर विद्युत् निकालिने सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विदुरमान श्रेष्ठले बताए । उनका अनुसार नहरबाट बिजुलीका लागि जलविद्युत् योजना निर्माणको लागत १ अर्ब ५ करोड हो । उनले यहाँ उत्पादन भएको विद्युत् साढे पाँच किलोमिटरको दूरीमा रहेको लम्कीमा सबस्टेसन बनाई राष्ट्रिय प्रसारण ग्रिडमा जोडिने बताए ।
‘हाइड्रो पावर योजनाअन्तर्गत सिभिलतर्फको काम भइसकेको छ,’ श्रेष्ठले भने, ‘इलेक्ट्रिकल र मेकानिकलको काम भइरहेको छ । माघभित्रै विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको छ ।’ विद्युत्को मेकानिकल कार्य भारतको मेकामिडी कम्पनीले गरिरहेको आयोजना कार्यालयले जनाएको छ । मेकामिडिका १५ जना प्राविधिक र स्थानीय कामदार छन् ।
इन्जिनियर श्रेष्ठका अनुसार विद्युत् गृह निर्माणको काम ५ प्रतिशत मात्रै बॉकी छ । विद्युत् उत्पादनका लागि चाहिने सबै उपकरण खरिद भइसकेको र विद्युत् गृहदेखि लम्की सबस्टेसनसम्म प्रसारण लाइनका पोल गाडेर तार तान्ने तयारी रहेको उनले बताए । रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाको मुख्य इन्टेकबाट रानी जमरा र कुलरिया कुलोका लागि आएको ५५ क्युसेक पानीबाट ५ मेगावाट बिजुली निकाल्ने योजना छ ।
सिँचाइ आयोजनाको डिजाइन गर्दा बिजुली निकाल्ने योजना नभए पनि नहरमा आउने पानीबाट सस्तोमा निकाल्न सकिने सम्भावना देखिएपछि बिजुली पनि निकाल्न थालिएको सीडीई श्रेष्ठले बताए । कोभिडका कारण भारतबाट मेकामिडी कम्पनीका प्राविधिक आउन नसकेपछि विद्युत् गृह निर्माणमा केही ढिलाइ भएको उनले बताए ।
हाइड्रोपावर निर्माणको काममा भएको ढिलाइले सिँचाइ आयोजनाको मुख्य नहरबाट पानी ल्याउन सकिएको छैन । गत आर्थिक वर्षमा नै मुख्य नहरबाट पानी ल्याउने योजना रहे पनि हाइड्रोपावरको काम नसकिएपछि मुख्य नहरबाट पानी आउन सकेको छैन । मुख्य नहरबाट पानी ल्याउन अटोमेटिक सिस्टम जडान गरी परीक्षण गरिसकिएको र विद्युत्को काम सकिनेबित्तिकै पानी आउने पनि उनले बताए ।
उत्पादित बिजुलीको सेयर बाँडफाँडबारे पनि छलफल चलिरहेको इन्जिनियर श्रेष्ठले बताए । उनले भने, ‘रानी जमरा कुलरिया जलविद्युत् कम्पनीको कसलाई कति सेयर दिने भनी प्रस्ताव गरी मन्त्रालय पठाएका छौं । प्रस्ताव स्वीकृत भएको छैन ।’ उनका अनुसार पहिलो समूहअन्तर्गत नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय ६ प्रतिशत, जलस्रोत तथा सिँचाइ विभाग १५ प्रतिशत, विभागका कर्मचारी ६ प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनी ६ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनी ६ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकार १५ प्रतिशत र स्थानीय तहलाई ५ प्रतिशत प्रस्ताव गरिएको छ ।
दोस्रो समूहअन्तर्गत आयोजना प्रभावित, सुदूरपश्चिमका सर्वसाधारण र उपभोक्ता समिति सेयर प्रस्ताव गरिएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रही विद्युत्को सेयर प्रस्ताव गरिएको उनले बताए । रानीजमरा कुलरिया कुलोले १४ हजार ३ सय, लम्की विस्तार नहरले ६ हजार हेक्टर र पथरैया नदीदेखि कन्द्रा नदीसम्म १८ हजार हेक्टर गरी ३८ हजार ३ सय हेक्टरमा सिॅचाइ सुविधा पुर्याउने लक्ष्य छ ।’
कर्णाली नदीबाट पहिलो चरणमा रानीजमरा, कुलरिया कुलोमा व्यवस्थित सिँचाइ सुविधा पुर्याउने योजना छ । दोस्रो चरणमा लम्कीचुहा नगरपालिकाको बलचौर क्षेत्रबाट राजमार्ग माथिबाट नहर निकाललेर कैलालीको पथरैया नदीसम्म र तेस्रो चरणमा कन्द्रा खोलासम्म नहर विस्तार गरी ३८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गर्ने आयोजनाको लक्ष्य छ ।
पथरैया नदीदेखि कान्द्रा नदीसम्म सिँचाइ कुलो विस्तारका लागि नेपाल सरकार विश्व बैंकको ऋण सहयोगमा २७ अर्ब ७० करोड २४ लाख रुपैयाँ खर्च हुने छ । आर्थिक वर्ष २०८०/०८१ सम्म सम्पन्न समयावधि रहेको आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा टीकापुर क्षेत्रमा नहर निर्माणको काम सकिएको छ । बलचौर क्षेत्रमा निर्माणाधीन छ ।कान्तिपुरबाट
२२ असोज २०७८, शुक्रवार १५:४२ बजे प्रकाशित































