बझाङ कांग्रेसका निर्वाचन अधिकृत भन्छन्ः भागेको होइन,मलाई अपहरण गरियो
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले बझाङको कांग्रेस अधिवेशनका लागि खटाएको निर्वाचन अधिकृत चेतराज भट्टले आफू अपहरणमा परेको बताएका छन् । आइतबार निर्वाचन गराउने जिम्मेवारी बोकेर बझाङ पुगेका निर्वाचन अधिकृत चेतराज भट्टले आफूलाई मध्येरातमा अपहरण गरिएको बताएका हुन् । भट्ट बेपत्ता भएपछि बझाङ कांग्रेसको निर्वाचन कार्यक्रम नै प्रभावित भएको छ । भट्टरले फेसबुकमा लेखेर आफू नभागेको पनि स्पष्ट पारेका छन् ।
‘बझाङमा जे जस्तो अवस्था आयो त्यसको दोषी म होईन, तपाईंहरू नै हो, म भागेको पनि होइन, निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदासम्म मतदान स्थलको टुङ्गो थिएन,’ उनले फेसबुकमा लेखेका छन्, ‘म आफैँ मतदान स्थल खोज्न गएको छु, राती एघार बजे मलाई अपहरण गरियो, मोबाइल खोसियो र भने बमोजिम नगरेमा मारी दिने घम्की दिइयो, र निर्वाचन बिथोल्ने षडयन्त्रका मतियारहरूले मलाई अमानविय व्यवहार गरे र असफल बनाए ।’
निर्वाचन गर्न नसक्नुको दोषी आफू नभएको उनको भनाइ छ । त्यस्तै उनले आफूले ७ लाख रुपैयाँ पैसा लिएर भागेको आरोपको पनि खण्डन गरेका छन् । ‘अन्तिम निर्वाचन गर्न म असफल हुनुमा तपाईंकै दोष हो । तपाईहरूले ७ लाख लगेर भागेको भन्ने जुन आरोप लगाउनु भएको छ त्यो सबै झुट्टा आरोप हो । मेरो ल्यापटपसहित मरो झोला तपाईंहरूको जिम्मा रहेको छ,’ उनले लेखेका छन्, ‘तपाईंहरूको मेले एक रूपैयाँ पनि लिएको छैन ।
तपाईंहरूले पैसाको खटन पटन र जिम्मा दिएका व्यक्तिहरू तपाईहरूकै जिल्लाका र तपाईहरूसगै छन् । उहाहरूसंग हिसाब माग्नु होला । मैले तपाईहरूको एक सुको पनि लिएको छैन, मित्थ्या आरोप नलाउनु होला ।’ उनले जिल्लाको निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्नसम्म सहयोग गर्ने सबैलाई धन्यावाद पनि दिएका छन् ।
१८ असोज २०७८, सोमवार १३:१९ बजे प्रकाशित































