कांग्रेसको वडा अधिवेशन सार्ने सहमति
नेपाली कांग्रेसको वडा तहको अधिवेशन सार्ने सहमति भएको छ । महाधिवेशनका विषयमा छलफल गर्न भन्दै बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन सार्ने सहमति गरेका हो ।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा भएको बैठकमा नेताहरुबीच वडा तहको अधिवेशनको मिति संशोधन गर्ने तर केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा सहमति बनेको हो ।
वडा तहको अधिवेशन कहिले गर्ने भन्ने विषयमा भोलि (शनिवार) बस्ने पदाधिकारी बैठकले टुंगो लगाउने कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान तर्फ नेतृत्वले ध्यान नदिएको प्रति गुनासो गरेका थिए । उनले नयाँ सदस्यता दिने नाममा पुरानालाई पाखा लगाइएको भन्दै आपत्ति जनाएका छन् ।
यस्तै समायोजनका नाममा विधि र प्रक्रिया मिचिएको र क्रियाशील सदस्यतामा देशभरि गडबडी गरिएको भन्दै पौडेलले सभापतिको ध्यानाकर्षण गराए ।
यसैगरी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी कार्यालयमा जारी धर्ना तथा अनसनको अन्त्य गर्नेतर्फ ध्यान दिन सभापति देउवालाई आग्रह गरेका छन् ।
बैठकमा महामन्त्री पुर्णबहादुर खड्काले राजनीतिक अवस्थाका विषयमा धारणा राखे भने क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नेता रमेश लेखकले सदस्यता छानबिनमा भएका प्रगति र देखिएको समस्याका बारेमा नेतृत्वलाई जानकारी दिए ।
बैठकमा सदस्यताको विवाद जिम्मेवारी तोक्ने विषयमा पनि नेताहरू सहमत भएका छन् ।
८ साउन २०७८, शुक्रवार १६:०० बजे प्रकाशित































