हतकडीसहित भागेका युवक धनगढीबाट पक्राउ
पक्राउ परेका सुरेन्द्र शाही
कैलालीमा लागुऔषधसहित पक्राउ पश्चात हतकडीसहित फरार भएका युवकलाई प्रहरीले तीन दिनपछि पक्राउ गरेको छ ।
शुक्रबार राति जोशीपुर गाउँपालिका वडा ३ बाट लागुऔषधिसहित पक्राउ पश्चात फरार भएका सोही गाउँपालिका वडा नम्बर ७ का वर्ष २७ का सुरेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एक ग्राम तीनसय ५० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरेको थियो । उनी पक्राउपपिछ ईलाका प्रहरी कार्यालय जोशीपुर लैजाने क्रममा राति नै लक्कड भन्ने स्थानबाट हतकडीसहित भागी फरार भएका थिए ।
उनलाई मंगलबार बिहान धनगढी उपमहानगरपालीका वडा नम्बर १ पार्कमोडस्थित वनदेवी मन्दिर नजिक सडक खण्डमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । शाहीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
२० माघ २०७७, मंगलवार १६:३५ बजे प्रकाशित































