उत्पादनमुलक क्षेत्रमा लगानी गरौं : मन्त्री चौधरी

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले प्रदेशको आर्थिक समृद्धिका लागि बित्तीय क्षेत्रले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएकी छन् । उनले यसका लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहने बताइन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् । समृद्घ नेपाल : सुखी नेपाली बनाउने नेपाल सरकारको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उनले बताइन् । अव्यवस्थित सहकारीहरुलाई व्यवस्थित बनाएर उत्पादनमुलक क्षेत्रमा पुँजि परिचालन गर्नका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका आवश्यक औंल्याउँदै उनले त्यसका लागि सुदूरपश्चिम प्रदेश सरकार साझेदार गर्न तयार रहको प्रतिबद्धता जनाइन् ।

बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथीमा रुपमा बैंकका केन्द्रीय सल्लाहाकार भागवत श्रेष्ठ रहेका थिए । त्यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघका संचालक तारालामा तामाङ्ग, राष्ट्रिय सहकारी महासंघका संचालक पदमा गरुङ्ग, सुदूरपश्चिम प्रादेशिक वचत तथा ऋण संघका अध्यक्ष माधवप्रसाद जोशी, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य अमर खडका र जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष उप्रेतीले बार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए । सुदूरपश्चिम प्रदेशस्तरीय एकाई सभाले सबै प्रस्तावहरु सर्वसम्मत पारित समेत गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकले सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरमा बचत तथा ऋण बाहेकका सहकारी संस्थामध्यबाट उत्कृष्ट सहकारी विधामा नवजिवन सहकारी संस्था लिमिटेड धनगढी र बचत तथा ऋण सहकारी संस्था मध्यबाट उत्कृष्ट सहकारी बिधामा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरलाई सम्मान गरिएको छ ।

साथै शाखा स्तरीयमा नियमित कारोबार बिधामा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी र उत्कृष्ट कारोबार बिधामा दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुनर्वास कंचनपुर सम्मानित भएका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा दुई भन्दा बढी सदस्य सहकारी संघ/संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले संचालन गरेको कार्यक्रममा बैंकका संचालक शिवा थापाले स्वागत मन्तव्य राखेका थिए ।


२८ मंसिर २०७७, आइतवार १९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु