कञ्चनपुर प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । त्यहाँ कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।
उनले संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुको परीक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट प्राप्त नभइसकेकोले बुधबारबाट नियमित सेवा प्रवाह बन्द गरिएको बताए । उनका अनुसार, शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।
साथै, अत्यावश्यक सेवा लिन आउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत कञ्चनपुर प्रशासनले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
१२ कात्तिक २०७७, बुधवार १५:१५ बजे प्रकाशित































