बोरामा राखेर भारततर्फ लैजाँदै गरेका दुई बालबालिकाको उद्धार
बारा । बाराको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बोरामा राखेर भारततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ । आइतबार प्रहरी टोलीले दुई बालबालिकालाई उद्धार गरेको हो ।
बारा देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई प्रहरीले उद्धार गरेको हो । बालबालिकालाई लैजाँदै गरेका भारत बिहारस्थित आधापुर बस्ने २२ वर्षीय ताबरेज आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
बोरामा हालेर भारत लैजाँदै गरेका बालबालिका रोएको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरेको थियो । सशस्त्र प्रहरी बिओपी दक्षिण झिट्कैयाबाट मिलन श्रेष्ठको कमान्डमा खटेको टोलीले बच्चालाई उद्धार गरेको सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाएको छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
३ भदौ २०८०, आइतवार २३:३७ बजे प्रकाशित































