प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई छोरीहरुले सीता दाहाललाई दागबत्ती दिएका छन्।
छोरीहरु रेणु ,गंगा र प्रधानमन्त्री प्रचण्डले बुधबार पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्।
दाहसंस्कारअघि सीताको शव पशुपतिको ब्रह्मनालमा राखिएको थियो। ब्रह्मनालमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए। त्यस्तै नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो।
आज बिहान ८ः३३ बजे निधन भएकी सीताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।
प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन राजनीतिक दलका शीर्ष नेता, सरकारी अधिकारीहरू पेरिसडाँडा पुगेका थिए।
दुर्लभ र जटिल प्रकारको नसासम्बन्धी रोगबाट गुज्रिएकी सीता दुई वर्षयता प्रतिक्रियाविहीन थिइन्।
२०७४ साल मंसिरमा छोरो प्रकाश बितेयता उनी बौरिन सकेकी थिइन्। प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई पछिल्लो समय पेटमा पाइप राखेर खाना दिइँदै आएको थियो।
उनको उचारमा संलग्न प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार प्रधानमन्त्री पत्नी सीतालाई बुधबार बिहानैदेखि स्वासप्रस्वासमा समस्या देखिएको थियो।
२७ असार २०८०, बुधवार १६:३७ बजे प्रकाशित































