सुदूरपश्चिममा निर्णायक निर्णय गर्न माओवादीले बोलायो संसदीय दलको बैठक
कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ ।
माओवादीले केन्द्रको ११ बजे दलको कार्यालयमा बैठक बस्दै छ । त्यस अघि १० बजे कांग्रेसको पनि बैठक रहेको छ ।
आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलम शाहले विश्वासको मत लिँदै छन् । दिउसो १ बजे उनले विश्वासको मतका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । त्यस अघि माओवादी र कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो ।
हिजो पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । त्यसमा ठोस कुनै निर्णय हुन सकेन । आज विश्वासको मत दिने या नदिने भन्ने बिषयमा निर्णय हुने माओवादी स्रोतको दाबी छ ।
माओवादी संसदीय दलका नेता खगराज भट्ट आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका बेला केही सांसदहरू भने अहिलेकै मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउँदै आइरहेका छन् ।
यहि विवादले निर्णय हुन नसकेपछि हिजो प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यहाँको अवस्थाबारे लेखि पठाइएको थियो । अब प्रचण्डको निर्देशन अनुसार माओवादी सुदूरपश्चिम प्रदेशमा अघि बढ्ने छ । केहि बेरमा सो निर्णय आउने र संसदीय दलको बैठकले सोही अनुसार अघि बढ्ने निर्णय गर्न सक्ने माओवादीका एक सांसदले बताए ।
२१ फागुन २०७९, आइतवार १०:०६ बजे प्रकाशित































