punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाउँ पसेको दुर्लभ घडियालको उद्धार

Chaupati
safha napa

कैलालीको पथरैया नदीबाट निस्केर गाउँ पसेको दुर्लभ घडियाल गोहीको उद्धार गरिएको छ । भजनी नगरपालिका–८ स्थित सोनाफाँटा गाउँमा पसेको गोहीको स्थानीय संरक्षणकर्मी, सुरक्षाकर्मी र गाउँवासीले उद्धार गरेका हुन । नदीमा बाढी आएपछि नदीबाट निस्केर गोही गएराति मानव बस्तीमा पसेको संरक्षणकर्मी एवम् डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार राति गाउँ पसेको गोहीलाई केही क्षति नगरोस् भनेर स्थानीयले बाँधेर राखेका थिए । बिहान भएपछि गोहीको उद्धार गरिएको थियो । स्थानीयवासी, सब डिभिजन वन कार्यालय भजनी र सुरक्षा निकायको रोहवरमा गोहीलाई पथरैया नदीमै छाडिएको छ ।

उद्धार गरिएको पोथी गोही ११ फिट लामो छ । उमेर लगभग २०/२५ वर्ष हुन सक्ने अध्यक्ष ढुङ्गानाको भनाइ छ । विश्वमै तीव्र गतिमा सङ्ख्या घटिरहेको घडियाल गोही कैलालीको मोहना, पथरैया लगायतका नदीमा पाइने गरेका छन् । डल्फिन देखिने क्षेत्रमा पोथी घडियाल गोही थुप्रै देखिने गरेका स्थानीय संरक्षणकर्मीको भनाइ छ ।

सन् १९५० तिर दक्षिण एसियाका धेरैजसो मुलुकमा पाइने घडियाल गोही अहिले भने नेपाल र भारतमा मात्रै पाइन्छन् । सबैभन्दा बढी घडियाल गोही रहेको स्थान भारतको चम्बल हो । त्यसपछि कतरनियाघाट सेन्चुरीमा पनि घडियाल गोही प्रशस्त छन् । नेपालको बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पनि राम्रो सङ्ख्यामा घडियाल गोही रहेका छन् । दुवै निकुञ्जमा गोही प्रजनन केन्द्र स्थापना गरेर घडियालको सङ्ख्या वृद्धिको कार्य हुँदै आएको छ ।

नेपालमा सन् २०१६ मा गणना गर्दा जम्मा १९८ वटा घडियाल रहेको पुष्टि भएको थियो । सो गणनाका क्रममा नारायणी नदीमा ८४, राप्तीमा ८२, बबईमा ३१ र कर्णाली नदीमा एक वटा मात्रै घडियाल अभिलेख भएको थियो । जसमध्ये भाले सङ्ख्या छ मात्रै रहेको पुष्टि भएको थियो । छ वर्षअगाडि गरिएको गणनाले कर्णाली नदीमा एक मात्र घडियाल रहेको पुष्टि गरे पनि अहिले भने सङ्ख्या बढेको छ ।

घडियालको भालेको ठुँडमा ठूलो घडा हुने गरेकाले भाले पोथी सजिलै छुट्याउन सकिन्छ । डल्फिनजस्तै स्वच्छ र बग्ने पानीमा बस्न रुचाउने घडियालको आहारा माछा हो । नदीनालामा पाइने माछा खाएर घडियाल गोही बाँच्ने गर्दछन् । घडियाल जमिन र पानी दुवैमा बस्न सक्ने सरिसृप प्राणी घडियाल कैलालीको नदीमा डल्फिनसँगै देखापर्ने गरेका छन् ।


२२ असोज २०७९, शनिवार १०:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु