सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य, हाल सम्म ६७ वटा विधेयक पारित
सुदूरपश्चिम प्रदेशसभाको दसौं तथा बर्खे अधिवेशन शुक्रबार राति अन्त्य हुने भएको छ । पहिलो प्रदेशसभाको कार्यकालको यो अन्तिम अधिवेशन पनि हो ।
प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको सिफारिस बमोजिम चालु बर्खे अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्यको आह्वान गरेका हुन् ।
प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको अधिवेशन अन्त्यसम्बन्धी पत्रबमोजिम राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरे । प्रदेशसभाको पाँच वर्षे कार्यकाल आगामी मंसिरमा समाप्त हुँदैछ ।
गत जेठ १६ गते प्रदेशसभाको दसौं अधिवेशन सुरु भएको थियो । बर्खे अधिवेशनमा २७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार ५ वर्षे कार्यकालमा प्रदेशसभाले संशोधन विधेयकसहित ६७ वटा विधेयक पारित गरेको छ ।
१७ भदौ २०७९, शुक्रवार २०:२० बजे प्रकाशित































