नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवस आज
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । ७३ वर्षअघि वि.स.२००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।
सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् ।
स्थापना दिवसका अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम आयोजना गर्दैछ । यही अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय थापथलीदेखि च्यासलमा सार्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा कम्युनिस्ट योद्धालाई सम्मान र स्थानीय निर्वाचन प्रतिबद्धता सार्वजनिक गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
स्थापना दिवसका अवसरमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् ।
‘आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो,’ उनले भनेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ हुन्।
९ वैशाख २०७९, शुक्रवार ०८:५८ बजे प्रकाशित































