डोटी जोरायलका जनप्रतिनिधीले आज राजीनामा दिने
यही बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्बाचनमा पुन : उम्मेदवार बन्ने तयारी गरिरहेका जोरायल गाउँपालिकाका जनप्रतिनिधीहरुले आज राजिनामा दिने भएका छन । आज गाउँसभाको बैठक बसेर ५ बर्षे कार्यकालको समिक्षा गर्नुका साथै यस अबधिमा सहयोग गर्ने जोरायल गाउँपालिकाबासी सबैलाई धन्यबाद दिने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । अध्यक्ष ओझाका अनुसार आजै गाउँपालिकाको ५ बर्षे कार्यकालको समिक्षा गरि मुख्य उपलब्धिहरुलाई सार्बजनिक गरिने छ ।
स्थानीय तहको निर्बाचनमा नेकपा(एमाले) ले अध्यक्ष पदमा बहालवाला अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष पदमा बहालवाला उपाध्यक्ष जमूना बोहरालाई पुन: उम्मेदवार बनाउने भएको छ । त्यस्तै सो पार्टीले वडा नंं ४ को वडा अध्यक्ष पदमा बहालवाला वडा अध्यक्ष नन्दराज भट्टलाई र वडा नंं ६ मा नेकपा (एकीकृत समाजवादी)ले वहालवाला वडा अध्यक्ष लालबहादुर साउँदलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
निर्बाचनमा उम्मेदवार हुने सबै जनप्रतिनिधीहरुले आजै राजिनामा दिने र सवारी साधन सहित सबै नगद जिन्सी सामान गाउँपालिकालाई फिर्ता गर्ने कार्यक्रम रहेको बताईएको छ ।
९ वैशाख २०७९, शुक्रवार १०:०६ बजे प्रकाशित































