प्रहरीलाई चुनौती दिँदै आएका दासका हत्यारा चार महिनापछि यसरी पक्राउ परे
कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । दासको हत्या भएकोे ४ महिनापछि उनीहरु पक्राउ परेका हुन् । प्रहरीलाई चुनौती दिँदै आइरहेका उनीहरु बिहीबार पक्राउ परेका हुन् ।
कैलाली जानकी ९ का सुमिद साउद, दिलिप दास, मनोज भण्डारी र बमबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपी १० जनामध्ये चारलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको हो । बाँकी फरार आरोपीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
लामो समयको खोज तलासपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
४ जना कसरी पक्राउ परे ?
दासको हत्या गरेर भारततर्फ फरार भएका चारैजना लुकिछिपी बस्दै आएका थिए । भारतमा बस्दा पनि त्यहीँबाट फेसबुक लाइभ आएर धम्की दिनेसमेत गरिरहेका थिए । नेपालको प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।
नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ आएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अपराध महाशाखाले पायो ।
त्यसपछि खटिएको विशेष टोलीले १ वैशाखको सवा ४ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई आज कैलाली प्रहरीलाई बुझाएको छ ।
कसरी भएको थियो हत्या ?
घटना हुनुभन्दा तीन दिनअगाडि कमल साउदको मोबाइल फोन हराएको विषयलाई लिएर सुमित साउदलाई शंका गरी कुटपिट गरेको थिए । सुमित कुटिएको विषयमा मनोज भण्डारी र बमबहादुर समेतले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागुऔषध चोरी गरी जंगलमा लुकाएका थिए ।
अर्जुनले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमितले पत्ता लगाई कमललाई फिर्ता दिएका थिए । कमलको मोबाइल चोरी गरेको र सुमितलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन हो भनी मनोज, सुमित, बम, सुशील मयाल, दिलीप दास, बादल विक, करण दर्नालले कुटपिट गर्ने योजना बनाएका थिए ।
२ पुस बेलुका ६ बजेतिर अर्जुन र उनका साथीहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका थिए । सबैजनाले लागुऔषध सेवन गरेपश्चात कमलको चोरी भएको मोबाइल र सुमितलाई कुटपिट गरेको विषयमा अर्जुनलाई दोषी देखाई सबैजना मिलेर कुटपिट गरी हातखुट्टा बाँधेका थिए ।
अर्जुनलाई हातखुट्टा बाधेर ४–५ घण्टा राखेपछि सबैजनाको मार्ने योजनाअनुसार सुशील मयाल खुकुरी उपलब्ध गराएर घर फर्किएका थिए । राति ११ बजेतिर मनोजलगायतको समूहले अर्जुनलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रयोग गरी घाँटी काटेर विभत्स हत्या गरी टाउको दुई फिट टाढा राखी सबै जनाले लागुऔषध सेवन गरी रातभरि घटनास्थलमै बसेका थिए ।
भोलिपल्ट बिहान ५ बजेतिर मनोज, बादल, दिलीप, बमे, सुमित र विवेक भारतको दिल्लीतर्फ लागेका थिए । कनकलाल, करण, सुशील कैलालीमै साथीको घरमा लुकेर बसेका थिए । सुमित, मनोज, दिलीप र बमे भारतका विभिन्न स्थानमा बस्दै आएका थिए । प्रहरीका अनुसार पक्राउ परेका ४ जनाले हत्या गरेको स्वीकारेका छन् ।
२ वैशाख २०७९, शुक्रवार १५:१९ बजे प्रकाशित































