प्रथम मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियाेगिताको तयारी पूरा
नयाँ वर्षको अवसर पारेर धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री वनदेवी युवा क्लब (विवाइसी) महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।
आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो ।वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रङ्गशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए ।
प्रतियोगितामा विभागीय टिम सहित ८ क्लबको सहभागिता रहने बताउँदै अध्यक्ष जोशीले गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने बताए ।
प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गरिने आयोजक क्लबका अध्यक्ष जोशीले बताए । महिला गोल्डकप सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने अध्यक्ष जोशीले बताए ।
धनगढी स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगिता रात्रिकालीन हुने आयोजक बनदेवी क्लबले जानकारी दिएको छ । दिउँसो अत्यधिक गर्मिहुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष जोशीले बताए ।
टाइसिट तथा ट्रफी सार्वजनिक
भोलि देखि सुरु हुने महिला गोल्डकपको टाइसिट सार्वजनिक गरिएको छ । भोलिको पहिलो खेल विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटका बिच हुने छ ।
२ वैशाख २०७९, शुक्रवार १५:०० बजे प्रकाशित































