टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल विजयी
सोमबार सुरु भएको त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको हो । शृंखलामा विजयी सुरुवात गरेको नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले तीन तीन विकेट लिए ।
नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पपुवा न्युगिनी १९ ओभर २ बलमा १६८ रन बनाउँदा अलआउट भयो ।
पपुवा न्युगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ५२ रन बनाए । उनले २९ बल खेल्नेक्रममा ४ छक्का प्रहार गरेका थिए ।
यसअघि नेपालका लागि आसिफ शेखले सर्वाधिक ३५ बलमा ४३ रन बनाए । रोहित पौडेलले ३४ रन बनाउँदा आरिफ शेखले ३१ रनको योगदान दिए । यस्तै कुशल भुर्तेलले २० रन बनाए ।
पपुपा न्युगिनीका लागि अली नाउ, चाड सोपर र चार्ल्स अमिनीले २–२ विकेट लिए । शृंखलामा अर्को टिम मलेसिया सहभागी छ ।
१४ चैत २०७८, सोमवार १६:५३ बजे प्रकाशित































