सेती प्रादेशिक अस्पतालमा आइसियु शय्या नपाउँदा ७२ वर्षीय वृद्धको मृत्यु, शय्या खाली नभएको अस्पतालको प्रष्टिकरण

धनगढी। धनगढी उपमहानगरपालिका–१९ फुलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको सेती प्रादेशिक अस्पतालमा आइसियु (सघन उपचार कक्ष) मा शय्या नपाउँदा मृत्यु भएको भन्दै परिवारले अस्पतालको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।
दमको समस्या बल्झिएपछि उपचारका लागि अस्पताल पुर्याइएका थारुको बिहीबार राति करिब ४ बजे मृत्यु भएको हो। परिवारका अनुसार आइसियु शय्या अभावका कारण समयमै उपचार नपाउँदा उनको ज्यान गएको हो।
मृतककी छोरी मनपतिदेवी चौधरीका अनुसार असार ३१ गते साँझ दमको समस्या बढेपछि थारूलाई धनगढीकै एक निजी अस्पतालमा लगिएको थियो। चिकित्सकले तत्काल आइसियुमा राख्नुपर्ने र प्रारम्भिक उपचारका लागि करिब एक लाख रुपैयाँ खर्च लाग्ने बताएपछि आर्थिक अभावका कारण परिवारले त्यहाँ उपचार गराउन सकेन।
त्यसपछि उनीहरू सरकारी उपचारको आशामा सेती प्रादेशिक अस्पताल पुगे। तर, अस्पतालमा आइसियु शय्षा खाली नभएको भन्दै पर्खन भनिएको परिवारको भनाइ छ।
‘बुबाको अवस्था निकै गम्भीर थियो। चिकित्सकले आइसियु आवश्यक छ भने पनि बेड खाली छैन भनियो। राति २ बजेसम्म पर्खनुस् भनियो तर बेड पाइएन। ३ बजेदेखि उहाँ धेरै छटपटिन थाल्नुभयो र बिहान ४ बजे मृत्यु भयो,’ छोरी मनपतिले बताइन्।
मनपतिदेवीले घटनापछि बुबाको अन्तिम अवस्थासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। भिडियोमा उनले आर्थिक अवस्था कमजोर भएका कारण समयमै उपचार नपाउँदा बुबाको ज्यान गएको भन्दै राज्य र अस्पताल प्रशासनप्रति आक्रोश व्यक्त गरेकी छन्।
अस्पतालले भन्योः बिरामीलाई अन्तिम अवस्थामा ल्याइयो आइसियू प्याक थियो
अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार धनगढीकै निजी अस्पतालमा उपचार गराइरहेका थारूलाई बिहीवार राति १२ बजे सेतीका ल्याइएको हो। उनको अवस्था निकै नाजुक भएपछि मात्रै अन्तिममा आइसियुमा राख्न ल्याइएको हो। उनले भने, ‘उहाँलाई अन्तिम अवस्थामा मात्रै निजी अस्पतालबाट सेतीमा ल्याइएको थियो। उहाँ आउँदा अस्पतालको सबै आइसियू प्याक थियो। सेतीमा १५ वटा मात्रै आइसियू शय्या छन्। तर आकस्मिक कक्षमा हामीले उपचार सेवा प्रदान गरेका हौँ। आइसियूमा पनि जटिल केसका बिरामी थिए।’
सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा सरकारी स्वीकृति केबल ५० शय्याको मात्रै छ। प्रदेशको सबैभन्दा ठुलो अस्पताल भनिए पनि सरकारी स्वीकृतिका आधारमा यो अस्पताल टीकापुर अस्पताल र भर्खरै स्थापना भएका लम्कीचुहा र जोगबुडा प्रादेशिक अस्पताल भन्दा सानो हो। जनशक्ति, भौतिक पूर्वाधार र उपकरण भए पनि बिरामीको अत्यधिक चाप हुने भएकाले उपचार भने सहज छैन।
सरकारी स्वीकृति ५० शय्याको मात्रै भए पनि सेती अस्पताल तीन सय शय्या क्षमतामा सञ्चालित छ। सरकारले सेती अस्पताललाई गैरकानुनी ढङ्गले चलाइरहेको भन्दै टिप्पणी समेत हुने गरेको छ।
१ साउन २०८३, शुक्रवार ११:१६ बजे प्रकाशित































