म्यादी प्रहरीका लागि कैलालीमा ११ हजार बढीले दिए आवेदन
कैलालीमा २ हजार ४५७ जना म्यादी प्रहरीका लागि ११ हजार बढीले आवेदन दिएका छन्। सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिने समय तोकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार २ हजार ४५७ म्यादी प्रहरीका लागि ११ हजार २ सय २२ जनाले आवेदन दिएका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले देशभर नै म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीका लागि देशभरबाट २ लाख ८० हजार ४९५ जनाले आवेदन फारम भरेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएकोमा २ लाख ८० हजार ४९५ जनाले आवेदन फारम भरेका हुन् । फारम भरेकाबाट १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने छ ।
१२ चैत २०७८, शनिवार १४:०४ बजे प्रकाशित































