लिटल फ्लावर प्रीमियर लिग: सत्यवतीको विजयी सुरुवात
धनगढीमा सोमबारदेखि सुरु भएको १९ वर्षमुनिको विद्यालय स्तरीय ‘धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग’मा सत्यवती एकेडेमीले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको छैठौं संस्करणको उद्घाटन खेलमा सत्यवती एकेडेमीले लिटल फ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गरेर बिजयी सुरुवत गरेको हो ।
खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले पुरै २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सक्यो। लिटल फ्लावरको ब्याटिङमा कप्तान विपिन रावलले सर्वाधिक ६२ रन बनाए। यस्तै नरेन भट्टले २८ रन बनाए। सत्यवती एकेडेमीका नीरज भट्ट र युवराज खत्रीले समान दुईरदुई विकेट लिए भने सन्तोष कार्की, सन्दीप खत्री र सुजन गौतमले समान एक एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १९७ रन बनाएको थियो। उसका लागि सन्दीप खत्रीले सर्वाधिक ६६ रन बनाए। यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए। लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुईरदुई विकेट लिए।
खेलको प्लेयर अफ द म्याच सन्दीप खत्री घोषित भएका छन् । प्रतियोगिताअन्तर्गत मङ्गलवार अर्थात भोली दुई खेल हुनेछन्। पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो गुरुकुल मडियम स्कुल र स्टेपिंगस्कुलले प्रतिस्पर्धा गर्नेछन्।
२ फागुन २०७८, सोमवार १८:२५ बजे प्रकाशित































