गुड्न थाल्यो जनकपुर–जयनगर रेल
जयनगर रेल आजदेखि सञ्चालनमा आएको छ। उद्घाटन नभएसम्म ‘ड्रायरन’ गर्न रित्तो रेल आजदेखि नियमित चल्न सुरु गरेको हो।
‘ड्रायरन’ गर्न दिनको एकपटक आजदेखि नियमित सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
२ असोज २०७७ मा भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरी तामझाम सहित ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको थियो।
‘ड्रायरन’ गर्नाले लिकमा पशु छाडा छाड्ने, मान्छेहरु जथाभावी गएर बसिदिने, बाटो काट्ने जस्ता समस्या समाधान हुने र रेल चल्न थाल्यो भनेर सर्वसाधारणमा सचेतना फैलिने महाप्रबन्धक झाको भनाइ छ।
रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ।
अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी खटाइएको छ।
नेपाली र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेपछि यात्रु बोकेर रेल नियमित सेवा सञ्चालन गर्ने महाप्रबन्धक झाले बताए। तबसम्म ‘ड्रायरन’ गर्न रेल यात्रु बिना नियमित चल्ने उनले बताए ।
ड्रायरन गर्न दुवै रेलको इन्जिन र वडी एउटैमा जोडिएको छ। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो। जाने बेला एउटा इन्जिन र फर्किने बेला अर्को इन्जिनको प्रयोग गरिन्छ।
६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिएका छन्। भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुंगो लागेको छ। जसमा १४ जना भारतीय कर्मचारी आइसकेको र बाँकी उद्घाटनपछि आउने महाप्रबन्धक झाले बताए।
१ फागुन २०७८, आइतवार १६:५६ बजे प्रकाशित































