भोलिदेखि फिल्म हल खुलाउन अनुमति दिने प्रशासनको निर्णय
काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खोल्न पाइने भएको छ। आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए ।‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएका हौं’ सीडीओ पराजुलीले भने ।
उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ ।
प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु तत्काल खुल्ने अवस्था नरहेको क्यूएफएक्स संचालक नकिम उद्दिनले बताए ।
१६ भदौ २०७८, बुधवार १५:३८ बजे प्रकाशित































