कञ्चनपुरमा जङ्गली हात्तीको झुण्ड प्रवेश, सतर्क रहन आग्रह

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका स्थित उत्तरी क्षेत्र आसपासका केही बस्तीहरूमा जङ्गली हात्तीको बथान प्रवेश गरेको छ । मंगलबार साँझ बेलौरी नगरपालिका वडा ९ को गोरखनाथ सामुदायिक बन क्षेत्रको आसपासका मानव बस्तीमा प्रवेश गरेको हात्तीको बथान बुधबार बिहानसम्म रामघाट सामुदायिक बन र सिंहपाल सामुदायिक वन आसपासका बस्तीमा समेत पुगेको कुण्डा सब डिभिजन बन कार्यालय पचकडीयाका प्रमुख (सहायक बन अधिकृत) दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार, १५ देखि २० वटासम्मको सङ्ख्यामा रहेका जङ्गली हात्तीहरूले किसानले लगाएका बालीनालीमा क्षति पुर्‍याएको छ । मंगलबार साँझ ६ बजेको समयमा १२ जना मजदुरहरू ज्याला मजदुरी गरेर आफ्नो घर फर्किरहेको समयमा जङ्गली हात्तीको बथानले आक्रमण गर्न खोजेको तर मजदुरहरू भागेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनु भयो । यद्यपि ती मजदुरहरूका साइकलहरू भने हात्तीको बथानले तोडफोड गरेको र ती क्षतिग्रस्त साइकलहरू नजिकैको बन कार्यालयमा राखिएको यादवले जानकारी दिनुभएको छ । मानव बस्तीमै जङ्गली हात्ती पसिसकेकोले सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ ।

बन प्रशासन, नेपाल प्रहरी र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू थप क्षति हुन नदिन सक्रिय रहेका छन् । हात्तीको बथान बस्ती आसपास पुगेको खबर पाउनासाथ मंगलबार साँझ देखि नै इलाका प्रहरी कार्यालय बेलौरी र मातहतबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताउनु भयो । उक्त बथान भारतीय सीमावर्ती दुधुवा नेशनल पार्कबाट केही समय पहिले नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि पछिल्लो समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका खुला ठाउँहरू उक्त बथान देखिने गरेको छ ।


२३ असार २०७८, बुधवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु