punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा सुत्केरीलाई पोषण कोसेली वितरण

Chaupati
safha napa

कैलालीको टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४२६ सुत्केरीलाई उपमेयर पोषण कोसेली वितरण गरेको छ।  नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका ४२६ सुत्केरीलाई कोसेली दिएको हो। नगरपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रोत्साहन गर्न र नियमित गर्भजाँचमा ल्याउन कोसेली कार्यक्रम शुरु गरेको हो। कोसेली पाएपछि सुत्केरी महिला खुसी भएका छन्। टीकापुर–१ की रुपा चौधरीले कोसेली पाएपछि खुसी लागेको बताइन्।

“मेरो दुई महिनाकी छोरी छिन्, पहिलो सन्तान हो। कोसेली लिन श्रीमान् पनि सँगै जानुभएको थियो”, रुपाले भनिन्, “कोसेली दिनुअघि गर्भावस्था तथा सुत्केरी अवस्थामा ध्यान दिनुपर्ने कुरा, बच्चाको स्याहार, खानपानबारे जानकारी दिइयो। सुत्केरी भइसकेपछि पनि नियमित तीनपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्नेसमेत जानकारी पाएँ।” रुपाका अनुसार सँगै कोसेली लिन आएका उनका श्रीमानले बच्चा र सुत्केरी स्याहारबारे सचेत भएका छन्।

त्यस्तै बुहारी सुत्केरी भएर कोसेली लिन आएकी टीकापुर–५ की सन्ध्या विककी सासू रुपकला विकले बुहारी विशेष अवस्थामा रहिछन् भन्ने बुझेको बताइन्। “हुन त मैले नि चार सन्तान जन्माएकी हूँ, हाम्रा पालामा यस्तो सुविधा थिएन। सुत्केरीको खानपानमा निकै ध्यान दिनुपर्ने रहेछ भन्ने सिकेँ”, रुपकलाले भनिन्, “अब बुहारीलाई छोरीजस्तै स्याहार गर्नेछुँ। बच्चाको सबै काम आफैँ गर्छु। बुहारी स्वस्थ भए पो बच्चा स्वस्थ हुने रहेछ।”

कोसेली लिँदा अनिवार्य चारपटक गर्भजाँच गरेको, नियमित आइरन चक्की खाएको, खोपको मात्रा पूरा गरेको र स्वास्थ्य संस्थामै सुत्केरी सेवा लिएको हुनुपर्दछ। टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवालीले कोसेली लिन आउने सुत्केरी, सुत्केरीका श्रीमान्, सासूससुरालाई सुत्केरी अवस्थामा ध्यान दिनुपर्ने खानपान र स्याहारबारेसमेत ज्ञान दिने गरेको बताइन्।

“यो कार्यक्रम जनचेतना जगाउनकै लागि हो। हामीले एक दिन मात्र कोसेली दिएर वर्षभरिलाई पुग्ने र पोषण सुधार हुँदैन”, ज्ञवालीले भनिन्, “हाम्रो उद्देश्य सधैँ यस्तै खानेकुरामा ध्यान दिऊन्, परिवारको साथ र सहयोगमा बच्चा हुर्काउन मिलोस् भन्ने हो।”

नगरपालिकाले तीन वर्षदेखि गरिरहेको यो कार्यक्रमले सुत्केरीले खानेकुरा बार्नुपर्छ भन्ने गलत सन्देशलाई चिर्दै हरियो सागपात, पोषिलो खानेकुरा खानुपर्छ भन्ने सन्देश दिन सकेको ज्ञवालीले बताइन्। “हाम्रो समाजमा अहिले पनि गलत मान्यता छ, बच्चालाई असर गर्छ भन्दै सुत्केरीलाई खानेकुरा बार्न लगाउने गरिन्छ। हामीले यी कुरा चिर्दै गएका छौँ। हामीले सुत्केरीलाई अरुलाई भन्दा बढी र सबै कुरा खान दिनुपर्छ भनी सचेत गराउने गरेका छौँ।”

नगरपालिकाले सुत्केरीलाई एक हजार बराबरको घीउ, अण्डा, गेडागुडी र फलफूल दिने गरेको छ। कोसेली दिँदा नियमित घरमा पनि यस्तै खाले खानेकुरा खान महिलालाई प्रोत्साहन गर्ने गरिएको छ। कोसेली लिन सुत्केरी आफै, सुत्केरीका श्रीमान्, सासूससुरा साथमा आउने गरेका छन्। नगरपालिकाका उपप्रमुख केशरी रावल विष्ट महिलाको पोषण र स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो कार्यक्रम गरिरहेको बताइन्।

“हामीले पूर्ण संस्थागत सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क रगतको व्यवस्थासमेत गरेका छौँ”, उनले भनिन्, “यसका साथै सुत्केरी हुँदा जटिल अवस्था भएकाले बाहिर जानु नपरोस् भनी नगरपालिकाको सहयोगमा टीकापुर अस्पतालमै स्त्रीरोग र बालरोग विशेषज्ञ सेवा दिइरहेका छौँ।”

उपप्रमुख विष्ट मातृशिशु मृत्युदर घटाउन, कुपोषणको जोखिम घटाउन यी कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँछिन्। “बाल मृत्युदर, मातृ मृत्युदर घटाउन यो कार्यक्रमले सचेत गराएको छ। यसका साथै हामीले गर्भावस्थामा समेत पोषणसम्बन्धी विभिन्न कार्यक्रम गर्ने गरेका छौँ”, विष्टले भनिन्, “स्वास्थ्यकर्मीले उपचारमा आउने गर्भवतीलाई केही समय पोषणसम्बन्धी परामर्शसमेत दिने गर्नुभएको छ।”


२३ असार २०७८, बुधवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु