बैतडीमा ७ हजार ५ सय बढीको कोरोना परीक्षण
बैतडीमा ७ हजार ५८९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको छ । गएको चैतदेखि अहिलेसम्म ७ हजार ५८९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
७ हजार ५ सय ८९ जनाको परीक्षण गर्दा ६ सय २२ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । अहिलेसम्म दशरथचन्द नगरपालिकामा १ सय ४८, पाटनमा १ सय ७, मेलौलीमा ४८, सिगासमा ५५ र डिलाशैनीमा २९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
यसैगरी सुर्नयामा ४४, पञ्चेश्वरमा ६३, शिवनाथमा ५१, दोगडाकेदारमा ५१ र पुर्चौंडीमा २६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका स्टाफ नर्स दीपा मौनीले बताए। ६ सय २२ जनामध्ये अहिले जिल्लामा ४५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय कोरोना भाइरस संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २६,पाटन नगरपालिकामा १६, सुर्नया गाउँपालिकामा २ जना र मेलौली नगरपालिकामा १ जना रहेको उनले बताए ।
तत्कालका लागि जिल्लाका ६ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिमा अहिले सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमै पुगेकाले यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले आग्रह गरे । उनले भने अहिले कोरोना भाइरस समुदायस्तरमा फैलिसकेको छ । त्यसैले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन म आग्रह गर्न चाहन्छु ।’
१८ पुस २०७७, शनिवार १०:५४ बजे प्रकाशित































