आज यो वर्षकै चिसो दिन, तराईमा बाक्लो हुस्सु
काठमाडौं उपत्याकाको आज विहान साढे ६ बजेको तापक्रम यो वर्षको आजसम्मकै कम ३ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा आजको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।
यो तापक्रम यो वर्षको आजसम्मकै न्यून भएको मौसमविद् गंगा नगरकोटी जानकारी दिइन् । उनकाअनुसार दिउँसो भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८–२० डिग्री सेल्यिससम्म पुग्नेछ ।”
यसअघि हिजो काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस थियो । आज दिनभर काठमाडौं उपत्यकाको मौसम सफा रहने छ । उनका अनुसार आगामी दिनमा अझै योभन्दा चिसो बढ्दै जाने छ ।
यसैबीच, अहिले ९बिहान० देशको तराइका अधिकांश भू–भागमा कुहिरो र हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी आउने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरिएको छ ।
आज दिउँसो प्रदेश–१, प्रदेश–२ तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ विभागको पूवानुमान छ ।
३० मंसिर २०७७, मंगलवार ०८:०५ बजे प्रकाशित































