‘आली भरिएर बनेको आलिताल’: पर्यटकका लागि आकर्षणको केन्द्र
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा रहेको पर्यटकीय क्षेत्र आलिताल पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । केही वर्षअघि संरक्षणको अभावमा ओझेलमा परेको ताल अहिले भने आन्तरिक तथा बाह्य पर्यटककका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । आलिताल गाउँपालिकाले तालको संरक्षण र सम्बद्र्धनका लागि बजेट छुट्याउँदै व्यवस्थित गरेपछि ताल अहिले अवलोकन भ्रमणको गन्तव्य बनेको छ ।
स्थानीय तह सञ्चालनमा आइसकेपछि गाउँपालिकाले तालको संरक्षणका लागि ध्यान दिँदै आएको छ । अहिले गाउँपालिकाले ताल क्षेत्रमा डुंगा पनि सञ्चालनमा ल्याएको भने गाउँपालिकाले पहिलो वर्ष करिब ६० लाख रुपैयाँको लागतमा आलितालसम्म सडकको स्तरोन्नतिको काम गरेको थियो । तालको चारैतिर करिब १ हजार ३ सय मिटर पैदलमार्ग निर्माण गरिएको छ । तालका विभिन्न स्थानमा अवलोकन र थकाइ मार्नका लागि छहारी घर निर्माण गरिएका छन् । 
ताल क्षेत्रमा वनभोजका लागि भान्छाघर र तालको पानी निकासका लागि नाला निर्माण गरिएको छ । तालमा वनभोजका लागि अलग्गै व्यवस्था गरिएको छ । ताललाई व्यवस्थित गरेपछि अहिले ताल अवलोकन भ्रमण गर्न आउने पर्यटकको संख्यामा बृद्धि हुँदै आएको तालका चौकीदार गगनसिंह पुनमगरले बताए । पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको आलिताल क्षेत्र प्राकृतिक र जैविक विविधताको प्रचुर भण्डार हो । 
ताल भिमदत्त राजमार्ग अन्तर्गत बुडर बजारबाट करिब १५ किलो मिटर बुडर–जोगबुढा सडक खण्डको गोदामी बजारबाट ३ किलोमिटर उत्तरमा रहेको छ । सामुन्द्री सतहदेखि करिब आठ सय मिटरको उचाइमा महाभारत पहाड शृङ्खलाको फेदमा रहेको यो ताललाई हाल आलिताल गाउँपालिकाले आफ्नो प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास पनि गरिरहेको छ ।
सुन्दर शान्त हरियाली वन र पहाडहरुको बीचमा अवस्थित यो तालको लम्बाई चार सय मिटर चौडाई दुई सय मिटर र गहिराई २२ मिटर छ । धार्मिक पर्यटनका लागि पनि राम्रो सम्भावना बोकेको यो तालको अझ प्रचार प्रसार हुन आवश्यक रहेको स्थानीयबासी बताउँछन् ।
सदरमुकामबाट झन्डै ६० किलोमिटर पश्चिम र कञ्चनपुरको बेतकोट भएर करिब ४५ किलोमिटरको कच्ची सडक बाटो प्रयोग गरी आलिताल पुग्न सकिन्छ । 
तालकाको इतिहास
तालको उत्पत्तिका बारेमा रोचक भनाइहरु प्रचलित छन् । किम्बदन्तीअनुसार परापर्वकालमा ताल रहेको स्थानमा ठूलो खेत रहेको थियो । असारको महिना खेतमा धान रोपाई हुने अघिल्लो दिन एक महिलाले सपना देख्छिन खेतमा रोपाइ गर्दा अनिष्ट भएको उनले सपनामा देखेको कुरा आफ्ना परिवारलाई र गाउलेलाई बताइन उनको कुरालाइ कसैले बिश्वास गरेन्न र हलगोरु सहित खेतमा धान रोप्न थाले रोपाइकै समय यत्तिकैमा ठूलो बर्षा सहित खेतमा विशाल रागों र नाग प्रकट भए त्यससंगै खेतमा पानी भरिन गई खेताला र हलगोरु सबै डुबेर मरे ।
किम्बदन्ती अनुसार सपना देख्ने महिला खेतलालाई खाना बनाउन गएकी उनी जिवित रहिन् पछि उनै महिलालाई शिव भगवानले दर्शन दिएर उनी देवी भइन् र तालमा बसिन भन्ने भनाई छ । यसरी खेतका आलीहरुमा पानी भरिएर विशाल ताल बनेकाले तालको नाम आलिताल रहन गएको भन्ने मान्यता छ । 
तालको महत्व र धार्मिक महिमाबारे विभिन्न धर्मग्रन्थमा समेत वर्णन गरेको पाइन्छ । श्रद्दाले यो तालको दर्शन गरेमा मनले चिताएको कुरा पुग्छ भन्ने मान्यता रहेको छ । तालको उत्तर र पूर्वपट्टि देवीदेउताको मन्दिरहरु रहेका छन् । तालमा माघे संक्राती र बैशाख संक्रान्तिमा मेला लाग्ने गरेको छ । स्थानीयहरुको भनाई अनुसार यो तालले हरियो रातो गुलाबी रंगमा आफ्नो रंग बदलिरहन्छ ।
२९ मंसिर २०७७, सोमवार १८:५४ बजे प्रकाशित































