प्रतिनिधिसभा सदस्य डा. भट्टद्वारा आधुनिक सडककोे शिलान्यास

प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा निर्माण हुने आधुनिक सडकको शिलान्यास गरेका छन् ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चारवटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणका लागि छनौट गरेको थियो । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण हुन लागेको हो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य डा भट्टले सडक निर्माणसंगै बजार क्षेत्र समृद्ध हुने बताउँदै यहाँ जैविक मार्ग निर्माण, मझगाउँ विमानस्थल सञ्चालन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन योजनाको गृहकार्य भइरहेको जानकारी दिए ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइका प्रमुख महेश सिंहले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक र ढल, साइकल लेन, फुटपाथलगायत संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताए ।

आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरका ५ गल्लीको सडक स्तरोन्नति, ढल निर्माणका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नमूना सडक, सौर्य बत्ती जडान हुने निर्माणको जिम्मा पाएको जेडआइइसी–लामा जेभीका इञ्जिनीयर भुपेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनकाअनुसार बजार क्षेत्र र आसपासको क्षेत्रमा गरेर १० देखि १५ मिटर चौडाइ भएको १४ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ। यसका लागि रू ८८ करोडको ठेक्का सम्झौता भएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेशसभा सदस्यद्वय प्रकाश रावल र मानबहादुर सुनारका साथै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टलगायत कार्याक्रममा सहभागिता भएका थियो ।


१९ मंसिर २०७७, शुक्रवार ११:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु