शिक्षण सुधारको माग गर्दै विद्यार्थी संगठनहरुद्वारा प्रजिअलाई ज्ञापनपत्र

कोरोना भाइरसको त्रासमा पनि स्वास्थ्य मापदण्ड नपाएर विद्यालय सञ्चालन हुन लागेको भन्दै कैलालीका विभिन्न विद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), समाजवादी विद्यार्थी यूनियनलगायतले शुक्रबार शिक्षण सुधारको माग राख्दै कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ज्ञापनपत्र बुझाएका हुने् ।

उनीहरुले नीजि तथा सरकारी विद्यालयहरुले कोरोना आक्रान्तमा पनि आवश्यक स्वास्थ्य सामाग्री अवलम्बन नगरी विद्यालय सञ्चालनमा ल्याइएको बताएका छन् । विद्यार्थी संगठनहरुले स्वास्थ्य सर्तकता अपनाएर मात्रै शिक्षण संस्थाहरुमा पठनपाठनको वातावरण तयार गर्नुपर्ने उनीहरुको माग छ ।

यस्तै, कोरोना कहरका बेला नीजि शैक्षिक संस्थाहरुले अनलाइन कक्षाका नाममा असुल्दै आएको शूल्कलाई नियन्त्रण गर्नुपर्ने, कोभिडका कारणले अल्पत्र परेका गरिव विद्यार्थी र मजदुरहरुलाई जिविकोपार्जन र कोठा भाडाको सन्दर्भमा तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने, यातायातमा बढाइएको ५० प्रतिशत भाडा वृद्धिदर खारेज गरी विद्यार्थीलाई दिइदै आएको सहुलियत कार्यान्वयन गर्न माग गरेका छन ।

विद्यार्थी संगठनहरुले नीजि विद्यालयहरुले विक्री वितरणको नाममा पब्लिकेशनसंग मिलेर मनोमानी ढंगले वर्षैपिच्छे पुस्तक वितरण गर्ने गरेको प्रवृतिलाई रोक्नुपर्ने र व्यापारीकरण, कालोवजारी, विकृतिलाई तत्काल नियन्त्रण गरी कारबाही गर्नुपर्ने माग गरेका छन् । विद्यार्थीहरु संगठनहरुले माग सम्बोधन नगरिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।


२३ असोज २०७७, शुक्रवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु