बझाङमा बलात्कार घटना गाउँमै मिलापत्र गर्ने ६ जना पक्राउ
बझाङमा बलात्कारको घटना गाउँमै मिलापत्र गराउने ६ जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार नियन्त्रणमा लिएको छ ।
बलात्कारको घटनालाई गाउँमा मिलाएको भन्दै प्रहरीले मष्टा गाउँपालिका – २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला दमाई, पिरु दमाईं र वडा नं. ३ का झलक दमाईंलाई सोमबार पक्राउ गरेको हो ।
गएको २९ साउनमा मष्टा गाउँपालिका –२ की १३ वर्षीय एक बालिकालाई गाउँ नजिकै रहेको घट्ट गएका वेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले बलात्कार गरेका थिए । उक्त घटना ६ जनाले गाँउमै बसेर कागज बनाई मिलापत्र गरेका थिए ।
बालिकाको पेटमा बच्चा बसेको खण्डमा निजकै जिम्मा लगाउने गरी कागजात बनाएको थियो । युवकलाई पाँच सय जरिवानासमेत तिराइएको थियो । घटना ढाकछोप गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरवीक्षक रुपक खड्काले बताए ।
घटना मिलापत्र गरेको डेढ महिना नबित्दै राजेन्द्र बोहराले १२ वर्षीया सम्झना कामीको गाँउ नजिकैको मन्दिरमा बलात्कार गरि हत्या गरेपछि सो बलात्कारको घटना पनि मिलापत्र भएको कुरा सार्वजनिक भएको थियो । बोहराले गाउँमा गरेका चोरी डकैती तथा बलात्कारका घटनाहरु एकपछि अर्को गरि बाहिर आउन थालेपछि प्रहरीले समेत अनुसन्धानलाई तिब्र पारिरहेको प्रहरी नायब उपरिक्षक खड्काले बताए ।
पक्राउ गरिएका ६ जना विरुद्ध समेत आवश्यक अनुसन्धान गरि कार्वाही अघि बढाउने नायब उपरीक्षक खड्काले बताए । बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका बोहराले सम्झनाको बलात्कारपछि हत्या आफैले गरेको स्वीकार गरिसकेका छन् ।
२० असोज २०७७, मंगलवार १८:४७ बजे प्रकाशित













