अब इन्स्टाग्रामबाट चार घन्टासम्म लाइभ गर्न सकिने
विश्वभर करोडौं प्रयोगकर्ता भएको सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ इस्ट्रिम (प्रत्यक्ष प्रसारण) गर्न सकिने व्यवस्था गरेको छ ।
यसअघि एक घन्टा मात्रै लाइभ गर्न सकिन्थ्यो । प्रयोगकर्ताको मागअनुसार इन्स्टाग्रामले अब चार घन्टासम्म लाइभ गर्न सकिने व्यवस्था गरेको हो । हालै मात्र इन्स्टाले योसहित तीन नयाँ फिचर थपेको छ ।
यति मात्रै होइन, कम्पनीले लाइभ अर्काइभको व्यवस्था पनि गरेको छ । जसमा प्रयोगकर्ताले लाइभ गरेका भिडियोहरू ३० दिनसम्म रहनेछन् । तर, यो भिडियो हेर्न भने प्रयोगकर्ताले मात्रै पाउँछन् । यसअघि इन्स्टामा पोस्ट र स्टोरीहरू मात्रै स्टोर गर्न सकिन्थ्यो । यसरी नयाँ फिचर थपिएकोबारेमा कम्पनीले ट्विटरमार्फत जानकारी दिएको छ ।
लाइभ स्ट्रिमिङको समयावधि बढेसँगै प्रयोगकर्ताले विभिन्न फाइदा लिन सक्नेछन् । अब प्रयोगकर्ताले खाना बनाउनेदेखि लिएर लाइभ क्लास लिने, घुमफिर र रमाइला गतिविधि घन्टौँसम्म लाइभ गर्न सक्नेछन् । यसअघि लाइभ गर्दा हरेक एक घन्टामा रिस्टार्ट गर्नुपर्ने बाध्यता थियो ।
१३ कात्तिक २०७७, बिहीवार १४:०२ बजे प्रकाशित































