तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत: गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन दल मिलेर सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक मूल्य, मान्यता र जनादेशविपरीत भएको बताएका छन्।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताह शुभारम्भ कार्यक्रममा बोल्दै थापाले यस्तो गठबन्धनले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने भएकाले नेपाली काँग्रेसले उक्त प्रस्ताव स्वीकार नगर्ने स्पष्ट पारे।
उनले विगतमा सत्ताकै लागि काँग्रेसबाट पनि केही राजनीतिक गल्ती भएको स्वीकार गर्दै अब पार्टीले सिद्धान्तमा कुनै सम्झौता नगर्ने बताए। उनका अनुसार सत्ता प्राप्तिलाई नै राजनीतिको मुख्य उद्देश्य बनाइँदा वि.सं. २०७२ यताका वर्षमा नेपाली राजनीति अस्थिर, अविश्वसनीय र दिशाहीन बन्दै गएको छ।
थापाले राजनीतिक दलहरूमा बढ्दो सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने अभ्यासले सरकार र प्रतिपक्षको भूमिकालाई अन्योलपूर्ण बनाएको बताए। उनले बिहानसम्म सत्तापक्षमा रहेको दल भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको दल सरकारमा जाने प्रवृत्तिले लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वास कमजोर बनाएको उल्लेख गरे।
प्रदेश सरकार गठनबारे काँग्रेसको धारणा स्पष्ट पार्दै थापाले परिणाम जे भए पनि पार्टीले जनादेश र लोकतान्त्रिक मूल्यको सम्मान गर्दै सिद्धान्तका आधारमा निर्णय गर्ने बताए। सरकारमा सहभागी हुनु मात्र काँग्रेसको लक्ष्य नभएको उल्लेख गर्दै उनले सत्ताकेन्द्रित राजनीतिले काँग्रेससहित सबै पुराना राजनीतिक दललाई क्षति पुर्याएको धारणा राखे।
सभापति थापाले चुनावी गठबन्धन र बदलिँदो सत्ता समीकरणका कारण राजनीतिक दलहरूको वैचारिक पहिचानसमेत संकटमा परेको उल्लेख गर्दै अब काँग्रेस नागरिकको जनादेश र आफ्ना आधारभूत सिद्धान्तप्रति इमानदार भएर अघि बढ्ने बताए।
३ साउन २०८३, आइतवार ११:४३ बजे प्रकाशित































