टिकटकले हटायो १६ करोड भिडियो
काठमाडौँ । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।
कम्पनीले नयाँ डाटा पोइन्ट र ट्रेन्डलाई समेट्दै ग्लोबल कम्युनिटीका निम्ति सुरक्षित वातावरण बनाउन कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको जनाएको छ ।
रिपोर्टअनुसार कम्पनीले सन् २०२४ को पहिलो तीन महिनामा टिकटकमा अपलोड १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाएको छ । यो संख्या अपलोड गरिएका भिडियोको लगभग ०.९ प्रतिशत हो ।
कम्पनीले कम्युनिटी गाइडलाइन्सविपरीतका यी भिडियो विश्वभरबाट हटाएको जनाएको छ । तीमध्ये १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट हटाइएको थियो । हटाइएका मध्ये ६० लाख ४२ हजार २८७ भिडियो थप समीक्षापछि पुनर्स्थापित गरिएका छन् ।
यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका आधारमा तीन महिनामा ९७ करोड ६४ लाख ७९ हजार ९४६ भिडियो कमेन्ट हटाएको समेत जनाएको छ । यो संख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टको १.६ प्रतिशत हो ।
२४ असार २०८१, सोमवार १५:३७ बजे प्रकाशित