कोरोनाबाट मृत्यु भएकी महिलाको शव कब्रस्तानमा गाडिएपछि…
कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव धनगढी नगरपालिकास्थित मा गाडेपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । स्थानीयले कब्रस्तानको गेटमा तालाबन्दी गर्दै सडक अवरुद्ध गरेका छन् ।
मानववस्तीसंगै रहेको कब्रस्तानमा कोरोना संक्रमित महिलाको शव गाडेको भन्दै स्थानीयले तालाबन्दी विरोधमा उत्रिएका हुन् । स्थानीयले विरोध प्रदर्शन गर्न थालेपछि त्यसतर्फ प्रहरीको टोली खटाइएको छ । स्थानीयले गाडिएको शव निकालेर अन्यत्र टाढा गाडिनुपर्ने माग गरेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको विहीबार विहान मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनकोे मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएका थिए ।
शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रस्तानमा शव गाडेका हुन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मानववस्ती भन्दा अलग्गै रहेको स्थानमा गर्दै आएको थियो ।
सरकारले कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव कसरी र कहाँ गाड्ने भनेर शव व्यवस्थापन कार्यविधिनै बनाएको छ । सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ ।
कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ । शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ । कार्यविधिमा उल्लेख भए अनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउदाँ सर्तकता अपनाउनुपर्छ ।
शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्छ। मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पु¥याउनुपर्नेछ ।
६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कार्यविधिमा उल्लेख छ ।
अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ। मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन् ।
१३ कात्तिक २०७७, बिहीवार १४:३३ बजे प्रकाशित































